arrow

गोर्खा ब्रुअरीलाई तिराईयो २५ हजार जरिवाना, फेरि गल्ती गरे जेल सजाय

logo
प्रकाशित २०७३ माघ २४ सोमबार
Gorkha_mahanagar.jpeg
काठमाडौं । कानूनले तोकेको विषयलाई पटकपटक लत्याउँदै आएको गोर्खा ब्रुअरीले फेरि अर्काे बदमासी गरेको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनैपनि विज्ञापन गर्न नपाउने र कुनै पनि सार्वजनिक स्थानमा मदिराको विज्ञापन राख्न नपाउने कानूनी प्रावधान लत्याउँदै गोर्खा ब्रुअरीले टुबार्ग वियरको विज्ञापन गरेपछि उसलाई कारबाही समेत गरिएको छ । 
 
यसअघि अदालतको आदेश लत्याउँदै काठमाडौंको महानगरपालिकाको पत्रलाई समेत बेवास्ता गर्दै सोलार प्यानलको ब्याट्रीमा मदिराको विज्ञापन गरेपछि यस विषयमा हाम्राकुराले नै समाचार प्रस्तुत गरेको थियो । उक्त समाचार पछि महानगरपालिकाले ऊ माथि मौखिक चेतावनी दिएको महानगरपालिका स्रोतको दाबी छ । 
 
अहिले फेरि गोर्खा ब्रुअरीले नै सार्वजनिक स्थानमा मदिराको विज्ञापन गर्न होर्डिङ बोर्ड बोकेर जाँदै गर्दा उसलाई महानगरप्रहरीका डिएसपी दिनेश अर्याल नेतृत्वको टोलीले पक्राउ गरेको थियो । बा १० च ५१५४ नं को गाडीमा टुबोर्ग वियरको होर्डिङ बोर्ड सहित पक्राउ गरिएको उक्त कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गराईएको डिएसपी अर्यालले जानकारी दिए । 
 
अर्यालले गोर्खा ब्रुअरीको तर्फबाट प्रतिनिधि बनेर आएकोले कारण खुलाएर प्रतिनिधि सुरेन्द्र खड्काको नाममा २५ हजार तिराईएको उनले जानकारी दिए । उनलाई निशेधित टुबोर्ग वियरको विज्ञापन र सार्वजनिक स्थानमा फोहोरमैला गरेबापत कारबाही गरिएको उल्लेख गरिएको छ । यस्तो गतिविधि दोहोर्याए उक्त संस्थालाई जेल सजायसम्म गराईने महानगरपालिकाले जनाएको छ ।
 
त्यस्तै, सार्वजनिक स्थानमा फोहोर गरेको आरोपमा आईतबार नै महानगरले उद्यमीहरुद्वय भवानी राणा र गीता भण्डारीलाई पक्राउ गरेको छ । उनीहरुले राष्ट्रिय उद्यम संस्थाको विज्ञापन गरेको आरोपमा भद्रकालीबाट पक्राउ गरेर कारबाही गरिएको महानगरले जनाएको छ । उक्त पक्राउ गर्ने टोली महानगरका प्रहरी पूर्ण चन्द्र भट्टको नेतृत्वमा गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ