arrow

नेपाली पत्रकारिता: सङख्यामा बृद्धि गुणस्तरमा ह्रास

logo
सुशील दर्नाल,
प्रकाशित २०७३ माघ २५ मंगलबार
Journalist-Step-5.jpg.jpeg
काठमाडौँ। पछिल्लो पटक नेपालमा आमसञ्चारमाध्यमको सङ्ख्यामा तीव्र रूपमा वृद्धि भएको छ । 
 
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चालु आव २०७३-०७४ को प्रथम चौमासिकसम्म रेडियो सञ्चालनका लागि सात सय ३१ ले अुनमति लिएका छन् । आव २०७२-०७३ सम्म सात सय दुईले मात्र अनुमति लिएका थिए । सात सय ३१ मध्ये पाँच सय ८० नियमित सञ्चालनमा छन् । आव २०७२÷०७३ सम्म पाँच सय ६५ मात्रै नियमित सञ्चालनमा थिए । 
 
विसं २०६३ साउनसम्ममा ५० वटा एफएम रेडियोले मात्र इजाजत लिएको देखिन्छ । यो तथ्यलाई हेर्ने हो भने २०६२-०६३ पछि दश वर्षका अवधिमा नेपालमा रेडियोको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ । 
 
इजाजत लिएकामध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका लागि मात्र करिब ३६ रेडियोले इजाजत लिएका छन् । कास्कीमा ३० रेडियो सञ्चालनको इजाजत लिइएकामा अधिकांश सञ्चालनमा छन् । 
 
नेपालको प्रसारण इतिहासमै २००७ सालमा ‘रेडियो नेपाल’ स्थापनापछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा ‘रेडियो सगरमाथा’ ले २०५४ सालमा सञ्चालनको अनुमति पाएको थियो । 
 
एउटा पनि रेडियो सञ्चालन नभएको हिमालपारिको जिल्ला मनाङमा रेडियो सञ्चालनका निम्ति अनुमति भने लिइएको छ । नेपालमा रेडियो प्रसारणको करिब ६५ वर्षको इतिहासमा रेडियो सञ्चालन मात्रै गर्नेभन्दा पनि ती रेडियोले दिने सन्देश कति महत्वपूर्ण छ भन्ने हो । 
 
मन्त्रालयका उपसचिव तथा नीति, योजना, अनुगमन तथा मूल्ङ्याङक शाखा प्रमुख रुद्रादेवी शर्माले चालु आवको प्रथम चौमासिकसम्म ९८ टेलिभिजनले अनुमति लिएको र २६ नियमित प्रसारणमा रहेको जानकारी दिनुभयो । 
 
आव २०७२-२०७३ सम्ममा ९३ ले मात्र अनुमति लिएका थिए भने २५ नियमित सञ्चालनमा थिए । सूचना विभागका अनुसार दैनिक, साप्ताहिक र वार्षिकलगायत सबै गरी २०७२ चैत मसान्तसम्म सात हजार एक सय ९७ पत्रपत्रिका दर्ता भएका छन् । विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलना वृद्धि हुँदै गएको छ । 
 
प्रेस काउन्सिल नेपालका अनुसार हालसम्म पाँच सय ४८ अनलाइन काउन्सिलमा सूचीकरण भएका छन् । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले हरेक हिसाबले नेपालमा यति धेरै मिडियाको आवश्यकता नभएको हुँदा ती मिडियाबीच एकीकरण गर्नेबारे काउन्सिलले छलफल अगाडि बढाएको जानकारी दिनुभयो । 
 
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आमसञ्चारमाध्यमको सङ्ख्यामा वृद्धि भएअनुसार गुणस्तरमा वृद्धि नभएको पक्कै हो, तर पहिलाको तुलनामा पत्रकारिताको गुणस्तर खस्कियो भन्ने चाहिँ होइन भन्नुभयो । डा विष्टले भन्नुभयो– “समग्रमा पत्रकारिता क्षेत्रको गुणस्तर कमजोरभन्दा पनि विषयवस्तु र प्रविधिअनुसार गुणस्तरीय हुन नसकेको हो ।” 
 
काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की मिडियाको सङ्ख्यामा भने तीव्र रूपमा वृद्धि भएको छ, तर गुणस्तर घट्दै गएको बताउनुहुन्छ । “मिडिया सञ्चालन गर्ने पूर्वाधार र आवश्यकताबिना नै सम्बन्धित निकायले अनुमति दिएका कारण पनि सङ्ख्यामा अस्वाभाविक वृद्धि भएको छ, अब यसलाई व्यवस्थापन गर्न एकापसमा एकीकरण गर्नु आवश्यक छ”, कार्कीले भन्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ