arrow

भूकम्प प्रतिरोधी घर: देखेपछि न विश्वास हुने हो

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
Earthquake_Resistant_traini.jpeg
नुवाकोट। विश्वमा धेरैथरी अनुसन्धान भएका छन् । अनुसन्धानबाट धेरैथरी सिद्धान्त प्रतिपादन भएका छन् । तर सबै अनुसन्धानबाट निकालिएका निश्कर्षहरु विश्वास नै नगरिएका उदाहरण पनि थुप्रै छन् । तर अध्ययन र अनुसन्धानबाट निकालिएको निश्कर्ष र समुदायमा गरिएको सिफारिसलाई आम मानिसले आफ्नै आँखाले देख्न पाए भने विषयले आम स्वीकारोक्ति पाउँछ । 
 
परम्परागत रुपमा निर्माण हुँदै आएका घरहरु भत्किएर अब भूकम्प प्रतिरोधी भवन निर्माणको सवाल जोडतोडले उठिरहेका बेला साधारण र भूकम्प प्रतिरोधी घरबीचको भिन्नतााको सैद्धान्तिक निश्कर्षलाई नुवाकोटबासीले आँखै अगाडी अनुभव गर्न पाएका छन् । यसअघि निर्माण भएका साधारण घरमा थोरै मात्र ध्यान पुर्याएर भूकम्प प्रतिरोधी तत्वहरुलाई समावेश गरी बनाइएका घरहरु भूकम्पको बेला बलियो साबित हुन्छन् भन्ने कुरा नुवाकोटको विदुरमा गरिएको कम्पन मञ्च प्रदर्शनबाट स्थानीयबासीहरु आश्वस्त भएका छन् । 
 
नुवाकोटको बट्टारस्थित आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा शनिबार आयोजना गरिएको कम्पन मञ्च प्रदर्शनी हेरेका विदुर नगरपालिकाका स्थानीय विद्यानाथ न्यौपानेले भने, “धेरै संस्थाहरु आएर भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ भन्थे । हामी त अलमलमा थियौँ । तर आज प्रदर्शनी हेरेपछि विश्वास भयो । यो त सामान्य कुरा पो रैछ । नस बाँध्ने, सुर कस्ने, कैँची मार्ने काम मात्रै गर्दा पनि घरले भैँचालो थेग्ने रैछ ।” 
 
यस्तै विदुर नगरपालिका बट्टारबाट प्रदर्शनी हेर्न आइपुगेकी ४० बर्षीय सम्झना श्रेष्ठले आश्वस्त हुँदै भनिन्, “भूकम्प प्रतिरोधी घर भन्या त झन्झटिलो होला, खर्च धेरै लाग्छ होला भन्ठानेकि थिएँ । यहाँ आएर सुनेपछि त सजिलै रैछ भन्ने लाग्यो । देखेपछि न विश्वास हुने हो ।”
 
कम्पन मञ्च प्रदर्शनमा उही सामग्रीबाट बनेका दुई थरी घर जहाँ एउटा घर साधारण तरिकाले बनाइएको र अर्को घर भूकम्प प्रतिरोधी तत्वहरु समावेश गरी निर्माण गरिएको थियो र दुई घरका मोडेललाई एउटै टेबलमा राखेर भूकम्पको कृत्रिम धक्का दिइएको थियो । 
 
क्रमिक रुपमा भूकम्पका कृत्रिम साना र ठूला धक्का दिँदै जाँदा एउटा घर गल्र्यामगुर्लुम ढल्यो भने अर्को घर जस्ताको तस्तै उभिरह्यो । न्यौपाने र श्रेष्ठजस्तै ३०० बढी सहभागीहरुले साधारण तौरतरिकाबाट बनाइएका र भूकम्प प्रतिरोधी तत्व समावेश गरिएका घरले भूकम्पको बेला देखाउने कम्पन व्यवहार प्रत्यक्ष हेर्न पाए । उही सामाग्री र उही ढाँचामा निर्माण गरिएका दुई घरबीचको भिन्नता बुझ्नका लागि जम्मा भएका भूकम्प प्रभावितहरु घरलाई भूकम्प प्रतिरोधी बनाउन साँच्चिकै सकिँदो रैछ भन्नेमा आश्वस्त देखिन्थे ।
 
सहरी विकास तथा भवन निर्माण विभाग नुवाकोट तथा अमेरिकी सहायता नियोगको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) द्धारा सञ्चालित बलियो घर कार्यक्रमको संयुक्त आयोजनामा गरिएको कम्पन मञ्च प्रदर्शनीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्मा, सहरी विकास तथा भवन निर्माण विभागका सि.डि.ई विदुर खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, एनसेटका कार्यकारी निर्देशक डा. आमोदमणि दीक्षित, उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईँ, बलियो घर कार्यक्रमका प्रबन्धक रञ्जन ढुंगेल लगायत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधीहरुको उपस्थिति थियो । 
 
कार्यक्रममा बोल्ने बक्ताहरुले गोरखा भूकम्पबाट नेपालका गाउँ सहरलाई भूकम्पीय दृष्टिकोणले सुरक्षित बनाउने ठूलो अवसर प्राप्त भएका भन्दै भूकम्प प्रतिरोधी समुदाय निर्माणका लागि अपिल गरेका थिए । 
 
गाउँगाउँमा बन्ने आवासहरुलाई भूकम्प प्रतिरोधी बनाउनका लागि प्राविधिक सहयोग गर्ने उद्देश्यले अमेरिकी सहायता नियोगको सहयोगमा एनसेटले बलियो घर कार्यक्रम संचालन गरिरहेको छ । कम्पन मञ्चको प्रदर्शन यसअघि धादिङ र दोलखामा पनि गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ