arrow

प्रचण्डले भने– निर्वाचन हुनेमा शङ्का नगरौँ

कर्णालीका जनताले सेल फोन बोक्न थालिसके, विद्युतीय मतदानलाई नजरअन्दाज नगरौं

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
news--pm-matadan.jpeg

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगमा आयोजित विद्युतीय मतदान उपकरणको नमुना प्रस्तुतिकरणपछि प्रधानमन्त्री दाहालले सबैलाई समेटेर समयमै निर्वाचन गराउन सरकार लागिरहेकाले शङ्का भन्दा पनि वातावरण बनाउनेतिर लाग्न सबैमा आग्रह गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘सरकार निर्वाचनका लागि गम्भीर छैन भन्ने होइन, तयारीका लागि निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ, कसरी स्वच्छ, निष्पक्ष र छिटो छरितो निर्वाचन गराउन सकिन्छ भनेर उपकरणको नमुना अभ्यास हुनु पनि तयारीकै सिलसिला हो ।’ स्थानीय निर्वाचन हुने र गर्नैपर्नेमा प्रधामन्त्रीको जोड छ ।

प्रधानमन्त्री दाहालले अगाडि भने, ‘निर्वाचन सम्बन्धी ऐन पारित भइसकेका छन् । सरकार निर्वाचनको तयारीमा लागिरहेको छ । अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ ।’ कार्यक्रममा प्रधानमन्त्रीले अब नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको बताउँदै भने, ‘यसपालि म देशका विभिन्न भागमा पुगें, दुर्गम ठाउँका जनताले पनि सेल्फोन बोक्न थालिसकेका छन् । अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हो । हामीले निर्वाचन शिक्षालाई प्रभावकारी त बनाउनैपर्छ । तर, सेल्फोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी ठान्दैनन् ।’

आफू कर्णालीमा पुग्दा पनि बूढाबूढीले समेत हातमा सेल फोन लिएको फोटो खिचेको देख्दा नेपालीहरु केही जान्दैनन् वा अशिक्षित छन् भनेर भन्नु नेपालीले नै नजरअन्दाज गरेको जस्तो लाग्ने भएकाले विद्युतीय प्रणालीको मतदानलाई जनताले ग्रहण गर्न सक्ने, प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले आधुनिकीक जमानामा नेपाल विद्युतीय मतदान प्रणालीमा नजाने प्रश्न नहुने भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा सरकार र आयोगबीच पछि छलफल गरिने बताए ।

आयोगले आउने स्थानीय निर्वाचनदेखि नै मुलुकभर विद्युतीय मतदान प्रणालीको सम्भावनाबारे अन्तर्राष्ट्रिय कम्पनी र प्राविधिकसँग परामर्श गरिरहेको छ । सो क्रममा मंगलबार स्मार्टम्याटिक नामक धेरै पार्टी र उम्मेदवारलाई समावेश गर्न सकिने नयाँ मेसिनबारे नमुना प्रस्तुतिकरण गरिएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले विश्वव्यापी रुपमा विद्युतीय मतदान प्रणाली लागू भइसकेको अवस्थामा नेपालमा यसको कार्यान्वयन गर्न अति आवश्यक भएकाले दीर्घकालीन रुपमा यसबाट कम खर्च लाग्ने उल्लेख गरे । कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिए भने, निर्वाचन आयोगका तर्फबाट विद्युतीय भोटिङ मेसिनका विशेषताबारे जानकारी गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ