arrow

बिम्स्टेक शिखर सम्मेलन नेपालमै हुने पक्का

logo
प्रकाशित २०७३ माघ २५ मंगलबार
bimstec.jpeg

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सन् २०१७ को अन्त्यमा नेपालमा हुने तय भएको छ । मंगलबार सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवको बैठकका छलफल तथा निर्णयका बारेमा जानकारी गराउँदै परराष्ट्र सचिव शङ्करदास बैरागीले २०१७ को अक्टोबर वा नोभेम्बरमा शिखर सम्मेलन गर्न प्रस्ताव गरिएको बताए ।

बिम्स्टेकको अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनकोे बैठकअन्तर्गत सोमबार उच्च पदाधिकारीको सत्रौँ तयारी बैठक गरेको थियो । बैठकका छलफल तथा निर्णयबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सचिव बैरागीले यसै वर्षको जुन महिनामा बिम्स्टेकको १५औँ मन्त्रिस्तरीय बैठक हुने बताए ।

बैठकमा विशेषगरी यस क्षेत्रमा यातायात, रेल, प्रविधि, पर्यटन, लगानी, ऊर्जालगायत क्षेत्रमा सम्बन्ध जोड्ने (कनेक्टिीभिटी) विषयमा महत्वपूर्ण छलफल र निर्णय भएको छ । बिम्स्टेक क्षेत्रको स्वतन्त्र व्यापारको वार्तालाई द्रुतमार्गमा अघि बढाउने सहमति भएको जानकारी गराउँदै सचिव बैरागीले भने, ‘आगामी जुन ६ मा बिम्स्टेकको २० औँ वर्षगाँठ मनाउने सम्बन्धमा समेत महत्वपूर्ण निर्णय भएको छ ।’

बैठकले बिम्स्टेकको भावी योजना तय गर्न प्रत्येक सदस्य राष्ट्रबाट दुई–दुई जना व्यक्ति सम्मिलित एक प्रबुद्ध समूह गठन गर्ने र उक्त समूहलाई भावी योजनाका साथै दिगो विकास लक्ष्यलाई कार्यान्वयन गर्न सिफारिस गर्ने सम्बन्धमा कार्यादेश दिने निर्णय गरेको छ ।

साथै, बैठकले भारतको गोवामा सम्पन्न ‘बिम्स्टेक ब्रिक्स आउटरिच सम्मेलन’ मा भएका सहमति अघि बढाउन विभिन्न विषयका कार्यदल गठन गर्ने निर्णय गरेको सचिव बैरागीले जानकारी दिए । उनले भने, ‘बिम्स्टेक राष्ट्रका उर्जामन्त्रीस्तरीय बैठक आगामी मार्च महिनाको ३० र ३१ तारिखमा गर्ने सहमति भएको छ । नेपाल बिम्स्टेकको अध्यक्ष राष्ट्र भएको नाताले सबै कार्यक्रम सफल र फलदायी बनाउन हाम्रो प्रयास केन्द्रित हुनेछ ।’

बिम्स्टेक सत्रौँ संयुक्त कार्यदलको बैठक यही माघ २३ गतेदेखि यहाँ प्रारम्भ भएको थियो । संयुक्त कार्यदल बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीका साथै सदस्य मुलुकबाट १० जनाभन्दा बढी प्रतिनिधि सहभागि थिए ।

बिम्स्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनता–जनताबीचको सम्पर्क विस्तार, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।

दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकको उपक्षेत्रीय सङ्गठन बिम्स्टेकको स्थापना सन् १९९७ मा भएको हो । बिम्स्टेकमा नेपाल, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्यान्ड र श्रीलङ्का सदस्य छन् । नेपालले सन् २००४ मा  सङ्गठनको सदस्यता पाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ