arrow

सुन तस्करीका लागि नेपालबाट लगेजमै बाहिरिन्थ्यो लाखौं डलर

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
gold.jpeg
काठमाडौं । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् ।
 
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर लगेजमै विदेश लगिने गरेको र त्यस अतिरिक्त विदेशमा काम गर्ने नेपालीले हुन्डीमार्फत नेपाल पठाएको रकम थप संकलन गरी सुन खरिदमा प्रयोग गर्ने गरेको तथ्य फेलापारेको हो ।
 
करिब १५ करोड रुपैयाँ मूल्य बराबरको सुन किन्न चाहिने करिब १५ लाख डलर विदेशी बजारमा कसरी जाने गरेको थियो भन्नेबारे अनुसन्धानका क्रममा यो तथ्य फेलापरेको हो ।
 
‘१५ करोड नेपाली रुपैयाँको सुन किन्न करिब १५ लाख डलर चाहिन्छ जब कि विदेश जानेले एक हजार डलरभन्दा बढी पैसा बोक्न पाउँदैन । 
 
एलसी खोलेरै पैसा लिएर जाँदा पनि निकै ठूलो प्रश्न उठ्ने विषय भएकाले हामीले खरिद विषयमा अनुसन्धान बढाएका हौं’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, ‘कि हुन्डीमार्फत सुन किन्ने कुरा हुन्छ कि त यतैबाट पैसा लिएर जाने कुरा हुन्छ । 
 
अनुसन्धान गर्दा भरियाले यतैबाट लगेजमा पैसा लिएर जाने गरेको बताएका छन् ।’
 
तस्करले पहिलोपटक आफूले सुन ल्याएको बताए पनि यस विषयमा सीआईबीले अध्यागमन विभागसँग विस्तृत विवरण माग गरेको छ ।
 
 ‘तस्करहरू नियमित रूपमा विदेश जानेआउने गरेको हुनसक्ने भएकाले हामीले अध्यागमन विभागसँग उनीहरूको विवरण माग गरेका छौं’, सीआईबी स्रोत भन्छ । सीआईबीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ