arrow

पत्रकार महासंघले विधि र विधान लत्याएर नयाँ सदस्यता दिएको प्रेस युनियनको आरोप

गैर नेपालीलाईसमेत सदस्यता दिइनु लज्जास्पद

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
FNJ.jpeg
काठमाडौं । नेपाल पत्रकार महासंघले विधि र विधान लत्याउँदै झण्डै तीन हजार नयाँ सदस्य थपेको भन्दै नेपाली काँग्रेस निकट संचारकर्मीहरुको संस्था नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । महासंघको नयाँ तथा नविकृत सदस्यताको टुङगो लगाउने सन्दर्भमा महासंघ नेतृत्वले गरेका अनेक अनियमितताका श्रृङखलावद्ध फेहरिस्तहरु उजागर भइरहेका सन्दर्भमा गैर नेपाली नागरिकलाई दिएको सदस्यता स्वीकृत गर्नेदेखि दल विशेषका कार्यकर्ताहरुलाई सदस्यता दिने र नविकरण गर्ने काम भएको भन्दै युनियनले आपत्ति जनाएको हो ।
 
युनियन महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै अवैध, प्रक्रिया मिचिएका र पुराना अभ्यासहरु कुल्चिएका निर्णयहरुलाई  तत्काल सच्याउन चेतावनी दिएका छन् । अहिलेको सदस्यता दिइएको विषयलाई टुलुटुलु हेर्ने हो भने आम नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा पत्रकारहरुले मात्र होइन सरकार, अन्तराष्ट्रिय निकाय र नागरिक समाजले समेत स्विकारेको महासंघलाई कुनै अमुक दल विशेषको भातृ संस्थाको रुपमा लैजाने खतरा हुनेसमेत विज्ञप्तिमा जनाइएको छ । 
 
विज्ञप्तिको पूर्णपाठ यस्तो छ – 
 
मितिः २०७३ माघ २६
 
प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघ आफ्नो शाखा अधिवेशनहरुमा तयारीमा रहेको छ । यस क्रममा महासंघको नयाँ तथा नविकृत सदस्यताको टुङगो लगाउने सन्दर्भमा महासंघ नेतृत्वले गरेका अनेक अनियमितताका श्रृङखलावद्ध फेहरिस्तहरु उजागर भइरहेका छन् ।  गैर नेपाली नागरिकलाई दिएको सदस्यता स्विकृत गर्नेदेखि महासंघका विधी प्रक्रिया र अभ्यासहरुलाई लत्याएर दल विशेषका कार्यकर्ताहरुलाई सदस्यता दिने र नविकरण गर्ने कामहरु भएका दर्जनौ गुनासो र उजुरी स्वयं महासंघको केन्द्रीय कार्यालयमा आएको जानकारी हामीहरुको संज्ञानमा पनि छ ।
सदस्यता कसलाई दिइयो र कस्ले प्राप्त गरिरहेको छ भन्ने सामान्य जानकारी महासंघकै केन्द्रीय समितिका सदस्यहरुलाई समेत नहुनु महासंघको उच्च नेतृत्वमा रहेकाहरुले तजविजी अधिकार प्रयोग गरि विधी प्रक्रिया र अभ्यासहरुलाई लत्याएर केन्द्रबाटै मनपरि सदस्य थप्ने काम हुँदा करिव ३ हजार नयाँ सदस्यता थपिएको छ । थपिएका अधिकांश सदस्यहरु क्रियाशिल पत्रकार भन्दा पनि दल विशेषका कार्यकर्ताहरु रहेका छन् । पत्रकारीता पेशाबाट पलायन भइ निष्क्रिय रहेका र अन्य पेशामा लागिसकेकाहरुलाई समेत नविकरण गरि मत सुरक्षित गर्ने प्रपञ्च मात्र गरिएको छ । महासंघ आफैले बनाएको कार्यविधीलाई समेत कुल्चेर सदस्यता वितरण र नविकरणमा मनपरि गरिएको छ । संस्थागत रुपमा महासंघलाई कब्जा गर्ने र फरक विचार राख्नेहरुलाई सदा सर्वदा वाहिर राख्ने उद्धेश्यबाट महासंघको उच्च नेतृत्व उद्यत भएको छ । 
देशभरका ३५ भन्दा वढी शाखामा महासंघको सदस्यतामा भएको अनियमितता, बिभिन्न क्षेत्रीय संयोजक र केन्द्रीय समितिका जिम्मेवारहरुले केन्द्रबाटै हुकुमी शैलीमा थपेका सदस्यता र नविकरण हाम्रा लागि सह्य छैन । विभिन्न जिल्लाबाट निर्णय गरि आएको सदस्यताको विषयलाई समेत महासंघ केन्द्रीय समितिका जिम्मेवार पदाधिकारीहरुबाट जवर्जस्ती विवादित बनाउने काम महासंघलाई कब्जाको मानसिकताबाट मात्र हेरिएको रुपमा हामीले लिएका छौ । 
महासंघका विभिन्न जिल्लामा विवाद बढ्दै जाँदा वाध्य भएर स्थानियस्तरमा पत्रकारहरुले लगाएको तालावन्दी खुलाउन नेपाल प्रेस युनियनले जिम्मेवार संगठनका रुपमा स्थानिय समस्याहरुलाई सुल्झाउन स्थानियरुपमा प्रेरित गरेको छ । फलस्वरुप कतिपय जिल्लाहरुमा लागेको ताला खुल्ला पनि भएको छ । तर हाम्रा प्रयासहरुलाई नजरअन्दाज गर्दै महासंघ नेतृत्वले थप विवाद वढाउन सहमति नै नभएको ठाउँमा जवस्जस्ती सदस्यता लाद्न खोजिएको छ । फलस्वरुप रुकुम लगायत कतिपय जिल्लामा फेरि तालावन्दी भएको छ । बारा शाखामा तालावन्दी भएकै अवस्थामा गैर नेपाली नागरिकलाई समेत महासंघको सदस्यता स्विकृत गरि पठाएर यसको नेतृत्वले अराष्ट्रिय चिन्तन पेश गरेको छ । प्रत्येक जिल्लामा केन्द्रबाटै केहि न केहि संख्या थपेर सदस्यता स्विकृत गरि पठाइएको छ । यस बारेमा पटकपटकका वैठकहरुमा महासंघ नेतृत्वलाई युनियनले जानकारी गराएको छ । तर महासंघको उच्च नेतृत्व संवादबाटै हल खोज्ने कुरामा उदासिन भइ हेपाहा चरित्र प्रस्तुत गर्दै जाँदा परिस्थितिलाई मुठभेडमा लान खोजेको अनुभुति भएको छ । यो अवस्थामा महासंघको उच्च नेतृत्वले आफूलाई नसच्याए महासंघका शाखाहरुमा परिस्थित काबु बाहिर जान सक्ने तथा केन्द्रीयस्तरमा पनि अप्रिय स्थित उत्पन्न हुन सक्ने कुरामा सचेत गराउँछौ । सो अवस्थामा त्यसको सम्पूर्ण जिम्मेवार महासंघको उच्च नेतृत्व नै हुने हामी विनम्रतापूर्वक जानकारी गराउँदै अवैध, प्रक्रिया मिचिएका र पुराना अभ्यासहरु कुल्चिएका निर्णयहरुलाई  तत्काल सच्याउन चेतावनी पनि दिन्छौ । 
अहिलेको सदस्यता दिइएको विषयलाई टुलुटुलु हेर्ने हो भने आम नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा पत्रकारहरुले मात्र होइन सरकार, अन्तराष्ट्रिय निकाय र नागरिक समाजले समेत स्विकारेको महासंघलाई कुनै अमुक दल विशेषको भातृ संस्थाको रुपमा लैजाने खतरा हामीले महशुस गरेका छौ । यो खतराबाट महासंघको साझा चरित्रलाई बचाउन सम्पूर्ण पत्रकार र पत्रकारीतासँग जोडिएका संस्थाहरु तथा नागरिक समाज एक ठाउँमा उभिनु पर्ने भएका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेका सबैलाई महासंघलाई दल बिशेषको छायाँबाट बचाउनका लागि एक ठाउँमा उभिन आह्वान गर्दछौ । जय नेपाल।
 
अजयबाबु शिवाकोटी
महासचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ