arrow

स्ववियु चुनावले त्रिविविमा तातोः कतै प्रचार–कतै विरोध, यस्ता छन् एजेन्डा

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
TU-fnl.jpg.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि घोषणा गरेको दिन नजिकिँदै गर्दा कतै उत्साह र कतै आक्रोश देखिएको छ । केही विद्यार्थी संगठनले स्ववियु चुनाव आफ्नो पोल्टामा पार्न प्रतिबद्धता जाहेर गरेका छन् भने केही संगठन तालाबन्दीमा उत्रेका छन् ।
 
नेविसंघको आन्तरिक विवादबाहेक तीन ठूला संगठनहरू चुनावी तयारीमा उत्साहका साथ लागेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले बुधबार चुनावको प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् । 
 
अनेरास्ववियुले कार्यकर्तामाझ आफ्ना एजेन्डा सार्वजनिक गरेको हो । उता, नेविसंघको २८ वर्षे उमेर हदबन्दीमा असन्तुष्ट नेताले आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् भने बुधबार नेकपा माओवादी विप्लवनिकटको संगठनले देशव्यापी ताला लगाएको छ ।
 
नेविसंघमा असन्तुष्टि
२८ वर्षे उमेर हदबन्दी लगाएर स्ववियु चुनावमा जाने निर्णयमा असन्तुष्टि जनाउँदै आंगिक क्याम्पसमा लगाएको ताला बुधबारसम्म खुलेको छैन । 
 
नेविसंघका अध्यक्ष नैनसिंह महरले विवाद मिलेको र अब ताला खुल्ने बताए । माउ पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवाले स्ववियु चुनावमा होमिन निर्देशन दिए पनि असन्तुष्टले ताला खोलेका छैनन् । 
 
२८ वर्षे हदबन्दीविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका छन् । असन्तुष्टले सर्वोच्चको फैसला मान्ने बताउँदै आएका छन् ।
 
यस्ता छन् अखिल क्रान्तिकारीका प्रतिबद्धता
अनेरास्ववियु क्रान्तिकारीले १४ फागुनमा हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनकेन्द्रित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । 
 
अखिल क्रान्तिकारीले बुधबार पत्रकार सम्मेलन गरी स्ववियु निर्वाचन–२०७३ को प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । 
 
क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आचारसंहिताको पालना गरी सोहीअनुसार प्रतिबद्धतापत्र सार्वजनिक गरेको बताए ।
 
उनले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक ऋण र प्रमाणपत्र धितोको आधारमा व्यावसायिक ऋणको कार्यक्रम कार्यान्वयन गर्न, त्रिविलाई विशेषज्ञता अध्ययन केन्द्रका रूपमा विकास गर्न, पूर्वाधारसहित आमविद्यार्थीको पहुँचमा हुने गरी सेमेस्टर प्रणाली लागू गराउने एजेन्डा अघि सारेका छन् । 
 
सो संगठनले विश्वविद्यालयमा छुट्टै ‘पार्टटाइम जब डिपार्टमेन्ट’ स्थापना गरी पढिरहेका नियमित विद्यार्थीका लागि आंशिक रोजगारी सुनिश्चितता गराउनेसमेत प्रतिबद्धता जनाएको छ ।
 
विश्वविद्यालयमा हुने गरेको भागबन्डा प्रणालीको अन्त्य गरी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयको पदाधिकारी र क्याम्पस प्रमुख चयन गर्ने व्यवस्था गर्न, अनियमित प्राध्यापक र कर्मचारीलाई नियमित र विद्यार्थीप्रति उत्तरदायी बनाउने एजेन्डा अघि सारेको छ । 
 
त्यसैगरी, असान्दर्भिक बनेका पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन गर्न, दातृनिकायको सहयोगको लोभमा क्याम्पस स्वायत्तताको नाममा गर्न खोजिएको नियन्त्रण गर्न, उच्च शिक्षामा भएको बेलगामयुक्त निजीकरण, व्यापारीकरण र दलालीकरणको अन्त्यको अभियानलाई निष्कर्षमा पुर्‍याउने जनाएको छ ।
 
विप्लव माओवादीनिकट विद्यार्थीबाट तालाबन्दी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिविका क्याम्पसहरूमा तालाबन्दी गरेको छ । 
 
स्ववियु चुनाव १५ दिन पछि सार्नुपर्ने, समावेशी हुनुपर्ने र फर्जी विद्यार्थी भर्ना खारेज गर्नुपर्ने माग राख्दै बुधबार तालाबन्दी गरेको हो । 
 
अखिल क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले त्रिविले सार्वजनिक गरेको स्ववियुको कार्यतालिका कम्तीमा १५ दिन पछि सार्नुपर्ने मुख्य माग रहेको बताए । पार्टीको महाधिवेशन रहेकाले १५ दिन पछि सार्न आग्रह गरेको बताए ।
 
 सो पार्टीको १–१० फागुनसम्म महाधिवेशन हुँदै छ । उनले स्ववियु चुनाव हुने देशभरका झन्डै चार सय क्याम्पसमा तालाबन्दी गरेको बताए ।
 
तयारी निरन्तर छ – त्रिवि
त्रिविका शिक्षाध्यक्ष तथा केन्द्रीय निर्वाचन कमिटी अध्यक्ष प्राडा सुधा त्रिपाठीले स्ववियु चुनावका विषयमा पछिल्ला घटनाक्रमबारे पदाधिकारीबीच छलफल भएको जानकारी दिइन् ।
 
 ‘सानातिना कुराले चुनाव रोकिँदैन, तर केलाई साना समस्या भन्ने नै समस्या छ । अब विद्यार्थीलाई बोलाएर छलफल गरी अघि बढ्छौँ । हाम्रो तयारी अघि बढिरहेको छ,’ उनले भनिन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ