arrow

बन्ने भयो त ग्यास आयातको पाइप ? मुजफ्फरपुरबाट ग्यास ल्याउन पहल

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
pipeline.jpeg
काठमाडौं । आयल निगमले भारतबाट सबैभन्दा नजिकको दूरीबाट ग्यास आयातका लागि पहल गर्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले सीमावर्ती क्षेत्रमा रहेको मुजफ्फरपुरमा रहेको डिपोसम्म ग्यासको पाइपलाइन ल्याउन लागेकाले निगमले त्यहीँबाट ग्यास आयातको पहल गर्न लागेको हो ।
 
आइओसीले पाराद्वीपदेखि मजफ्फपुरसम्म १ हजार ७६ किलोमिटर लामो ग्यास पाइपलाइन बिछ्याउने योजनालाई कार्यान्वयन गरिरहेको छ । 
 
यस पाइपलाइनको वार्षिक क्षमता १७ लाखदेखि २० लाख मेट्रिक टन ग्यास आपूर्ति गर्ने रहने आइओसीले बताएको छ । निगमको अमलेखगन्जस्थित डिपोबाट मुजफ्फरपुरको डिपो करिब २ सय किलोमिटरको दूरीमा छ ।
 
आइओसीले ग्यास रिफाइनरी रहेको पाराद्वीपबाट हल्दिया हुँदै दुर्गापुरसम्म ग्यासको पाइपलाइन धमाधम बिछ्याइरहेको छ । र, त्यसलाई विस्तार गरी पटना र मुजफ्फरपुरसम्म लैजाने योजना छ । 
 
यस परियाजनाका लागि आइओसीले १८ सय २३ करोड भारु खर्चिंदै छ । मुजफ्फरपुरसम्म पाइपलाइन बिछ्याई त्यहाँ रहेको डिपोमा ग्यास सहज तरिकाले वितरण गर्ने आइओसीको योजना छ ।
 
मुजफ्फरपुरमा रहने डिपोबाट ग्यास ल्याउने पहल गर्न निगमको एक टोली बिहीबार भारत जाँदै छ । प्रवक्ता भानु खनाल, निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक वीरेन्द्र गोइत आइओसीका प्रतिनिधिसँग छलफल गर्न भारत जान लागेका हुन् ।
 
प्रवक्ता खनालले मुजफ्फरपुरबाट ग्यास ल्याउने पहलकदमीका लागि भारत जान लागेको जानकारी दिए ।
 
हाल निगमले बरौनी, हल्दिया, मथुरा, पानिपत र पाराद्वीप रिफाइनरीबाट ग्यास ल्याउन आइओसीसँग सम्झौता गरेको छ । 
 
त्यसमध्ये पाराद्वीपबाट सम्झौता भएको एक वर्ष बित्न लाग्दासमेत ग्यास आउन सकेको छैन । पाराद्वीप सबैभन्दा टाढाको दूरीमा रहेको र ढुवानी भाडा समायोजन गर्न नसक्दा आपूर्ति हुन नसकेको हो ।
 
प्रवक्ता खनालका अनुसार हाल सम्झौता भएका आइओसीका ५ मध्ये ४ वटा रिफाइनरी अमलेखगन्जबाट १ हजार किलोमिटरभन्दा बढी दूरीमा छन् ।
 
 ‘मुजफ्फरपुरबाट ल्याउने हाम्रो प्रस्तावमा आइओसी सकारात्मक भए सबैभन्दा नजिकको दूरीबाट ल्याउन सक्ने स्थिति बन्छ,’ खनालले भने ।
 
निजकको दूरीबाट ग्यास ल्याउँदा ढुवानी भाडा कम पर्छ । भारतीय भूमिमा ट्यांकर चालकमाथि दुव्र्यवहार हुँदै आएको छ । नजिकको दूरी भए यस्तो दुव्र्यवहार पनि कम हुनेछ ।
 
कुन ग्यास रिफाइनरी कति टाढा
 
अमलेखगन्ज–मुजफ्फरपुर (प्रस्तावित डिपो)    २०० किलोमिटर
 
(अमलेखगन्ज–बरौनी    २७३ किलोमिटर
(अमलेखगन्ज–मथुरा    १०४८ किलोमिटर
(अमलेखगन्ज–हल्दिया    ८०१ किलोमिटर
(अमलेखगन्ज – पानीपत    १०६८ किलोमिटर
(अमलेखगन्ज–पाराद्वीप    १०७० किलोमिटर
 
मोतिहारीबाट पेट्रोलियम पाइपलाइन
निगमको टोलीले प्रस्तावित रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको लम्बाइ बढाउन पनि आइओसीसँग छलफल गर्नेछ । 
 
आइओसीले मोतिहारीसम्म रहेको डिपोसम्म धमाधम पाइपलाइन बिछ्याउने काम गरिरहेको छ । 
 
त्यसैले निगमले रक्सौल नभई त्योभन्दा ठूलो डिपो मोतिहारीबाट पाइपलाइन सुरु गरी रक्सौल हुँदै अमलेखगन्जसम्म ल्याउने विषयमा छलफल गर्न लागेको हो । 
 
प्रवक्ता खनालका अनुसार मोतिहारीबाट पाइपलाइन बिछ्याउने विषयमा यसअघि पनि छलफल भइसकेको छ ।
 
‘मोतिहारीदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने  विषयमा ठोस निष्कर्ष निकाल्ने गरी छलफल गर्ने सोचमा छौँ,’ उनले भने । 
 
अहिलेसम्म पेट्रोलियम पाइपलाइनका विषयमा दुवै देशले गरेका प्रगतिका विषयमा पनि समीक्षा हुने उनले जानकारी दिए ।
 
मोतिहारी–अमलेखगन्ज पाइपलाइन बने ७८ किलोमिटर लम्बाइ हुनेछ । काम सुरु भएको ३० महिनामा पाइपलाइन बनाइसक्ने भारतले यसअघि नै बताइसकेको छ । पाइपलाइनको सम्पूर्ण खर्च आइओसीले नै व्यहोर्नेछ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ