arrow

अङ्ग्रेजी र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
language-computer-class.jpeg
तेह्रथुम । तेह्रथुमको इवा गाविसस्थित रन्दल आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि रु ४० लाखको अक्षयकोष स्थापना भएको छ । 
 
विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । 
 
सो अभियानबाट रु ४० लाखभन्दा बढी संकलन भएको र यो क्रम निरन्तर रहेको प्रधानाध्यापक जयप्रकाश इङनामले बताए । 
 
विद्यालयमा अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनमा आएपछि विद्यार्थीको आकर्षण बढेसँगै यसलाई थप व्यवस्थापन गर्न विद्यालयले अक्षयकोष सङ्कलन सुरु गरेको थियो । 
 
वर्तमानको समय कम्प्युटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीको आधारभूत सैद्धान्तिक र व्यावहारिक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गरिएको छ । 
 
शैक्षिकसत्र २०७० देखि नै विद्यालयले दुईहजार आठसय वाटको सोलार प्रविधि जडान गरी विद्यालयमा आधाभूत कम्प्युटर शिक्षा सञ्चालन गरिरहेको छ । 
 
आजको युग उच्च प्रतिस्पर्धाको युग भएकाले विद्यार्थी जुनसुकै ठाउँमा पनि प्रतिस्पर्धामा योग्य बनाउने अभिप्राय र अङ्ग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकको अङ्ग्रेजी माध्यमप्रति आकर्षण र अभिरुचिलाई मध्यनजर गरेर शैक्षिकसत्र २०७१ देखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापक इङनामको भनाइ छ । 
 
विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिरहेको छ । 
 
सरकारको शिक्षा नीति स्पष्ट नभएको र विद्यालयको आन्तरिक स्रोतसमेत कमजोर भएकाले दक्ष शिक्षकको व्यवस्थापनका लागि आर्थिक चुनौती रहेकाले, विद्यालयको आसन्न २५औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसर पारी अक्षयकोष अभियान सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद इङनामले बताए । 
 
विद्यालयले सञ्चालन गरेको अक्षयकोष अभियानमा विद्यालयका संस्थापक, शिक्षक, कर्मचारी, स्थानीय अभिभावक, समाजसेवी, चन्दादाता तथा प्रवासी नेपाली समेतले विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । 
 
स्थापना भएको अक्षयकोषको ब्याजबाट अङ्ग्रेजी माध्यम र कम्प्युटर शिक्षा व्यवस्थापन गरिने विद्यालय स्रोतले बताएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ