arrow

स्थानीय निकायका कर्मचारी बने मगन्ते

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ माघ २७ बिहिबार
Ministry-of-Local-Development-news.jpeg

तेह्रथुम । स्थानीय निकायका कर्मचारी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन् । मंगलबारदेखि कालो पट्टी बाँधेर विरोध जनाउँदै आन्दोलन थालेका कर्मचारीले विहीबार विहान एक घण्टा काम ठप्प पारेका छन् ।

स्थानीय निकायमा कार्यरत अस्थायी तथा करारमा रहेका कर्मचारीहरुलाई विना शर्त स्थायी गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग गर्दै कर्मचारीहरुले आन्दोलित बनेका हुन् । विहीबार विहान १० बजेदेखि ११ बजेसम्म जिल्ला विकास समिति, नगरपालिका र गाउँ विकास समितिका अस्थायी र करारका कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही भने मारमा परेका छन् ।

देशभर स्थानीय निकायमा कार्यरत करिब ६ हजार अस्थायी तथा करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरिएको स्थानीय निकाय कर्मचारी संघ तेह्रथुमका जिल्ला अध्यक्ष खगेन्द्रराज भण्डारीले बताए ।

‘हामीले आफ्नो जीवनको ऊर्जाशील समय राज्यको सेवामा बिताएका छौं, उनले भने,  ‘सोही आधारमा हामीलाई निमामति सो सरह स्वतः स्थायी गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग आफुहरुले राखेको उनले बताए । शुक्रबार दुई घण्टा काम अवरुद्ध पार्ने उहाँले बताए ।

कर्मचारीहरुले स्थानीय तहका संरचनामा कर्मचारीको व्यवस्थापन र समायोजन गर्दा जिविस, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाविसमा कार्यरत स्थायी, अस्थायी र करार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखि व्यवस्थापन र समायोजन गरिनु पर्ने समेत माग राखेका छन् ।

कर्मचारी व्यवस्थापन गर्दा ज्येष्ठता, योग्यता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा श्रेणी मिलान गरिनु पर्ने, समायोजनमा जान नचाहने कर्मचारीलाई विशेष सुविधा दिई अवकाशको सुविधा दिनुपर्ने, स्थानीय तहका दरबन्दीलाई प्रदेशस्तरमा एकीकृत गरी निश्चित प्रणालीका आधारमा पदस्थापन र सरुवाको व्यवस्था गरिनु पर्ने माग अघि सारिएको अध्यक्ष भण्डारीले बताए । जिल्लामा स्थानीय निकाय ट्रेड युनियन केन्द्रीय समितिको आब्हानमा जिल्ला आन्दोलन परिचालन समन्वय समितिको अगुवाईमा आन्दोलन भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ