arrow

जयबहादुर चन्द प्रहरी प्रमुख बन्ने पक्का, यस्तो भो सेटिङ्

logo
प्रकाशित २०७३ माघ २७ बिहिबार
jyabahadur-chand-new.jpeg

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । विहिबार गृहमन्त्री विमलेन्द्र निधिले गृहसचिव लोकदर्शन रेग्मीलाई आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेगरी प्रहरी महानिरीक्षक नियुक्त हुनेमा चन्दको नाम राखेर प्रस्ताव तयार पार्न निर्देशन दिइसकेको गृह स्रोतले जनाएकोे छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको प्रक्षत्य निर्देशनलाई गृहमन्त्रीले नकार्न नसकेपछि चन्दलाई महानिरीक्षक बनाउने प्रस्ताव तयार गर्न लगाएको बताइएको छ । स्रोतले भन्यो, ‘विहिबार बिहान भएको आन्तरिक छलफलपछि गृहमन्त्री निधिले  गृह सचिवलाई चन्दको नाम राखेर क्याविनेटमा लैजाने प्रस्ताव बनाउन निर्देशन दिइसकेका छन् ।’

एआइजीहरु सवै सेवानिवृत्त हुने भएपछि प्रहरीमा डीआईजीबाटै आइजी बनाउनुपर्ने बाध्यता छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल फागुन २ गतेबाट सेवानिवृत्त हुँदै छन् । डीआइजी मध्ये वरियताक्रममा क्रमशः नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् । वुधबारसम्म गृहमन्त्री निधि वरिष्ठताका आधारमा सिलवाललाई प्रहरी महानिरीक्षक बनाउनुपर्ने पक्षमा थिए । वुधबार काँग्रेस नेताहरुबीच भएको छलफलमा समेत उनले देउवाको प्रस्ताव नमानेको बताइँदै छ । यद्यपि, देउवा आफैले गृहमन्त्रीलाई निर्देशन दिएपछि उनले नकार्न सकेनन् ।

गृहमन्त्री निधिले विगतमा सिनियर अधिकृतलाई प्रहरी महानिरीक्षक नबनाउँदा प्रहरी संगठन बिग्रेको र राजनीतिक हस्तक्षेप भएको भन्दै कटु आलोचना भएको भन्दै वरिष्ठतालाई मिच्न नसकिने जवाफ दिँदै आएका थिए । उता, सशस्त्र प्रहरीका आइजी दुर्जकुमार राईले समेत फागुन ३ देखि ३० वर्षे सेवाअवधि सक्काउँदै छन् ।  सशस्त्रको आइजीका लागि पहिलो बरियतामा रहेका एआएजी सिंहबहादुर श्रेष्ठको नाममामा गृहले प्रस्ताव तयार पार्दै छ ।

आइजी राईले केही दिनअघि सार्वजनिक कार्यक्रममै आफु सेवानिवृत्त भएपछि चार हल गोरु र भेडा पाल्ने बताएका थिए । अर्याल र राई एउटै मितिमा प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यस्तै, केही दिन अघि एक प्रहरी अधिकारीले हाम्राकुरासँग भनेका थिए, ‘सुदूरपश्चिममा क्षेत्रीय एकता छ । त्यहाँ पार्टीगत स्वार्थ हेरिँदैन । आफ्नो क्षेत्रको मान्छे ल्याउने भनेपछि सबैले साझा स्वार्थ राख्छन् । जयबहादुर चन्द नै प्रहरी प्रमुख हुन्छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ