arrow

स्ववियु चुनाव नजिकिंदैः राजधानीकै क्याम्पस प्रमुख त्रासमा

logo
प्रकाशित २०७३ माघ २८ शुक्रबार
TU.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजधानीका क्याम्पस प्रमुखहरूले आफूहरू असुरक्षित रहेको गुनासो गरेका छन् । लिखित र मौखिक रूपमा धम्की आएको भन्दै क्याम्पस प्रमुखहरूले स्ववियु चुनावको वातावरण बनाउनसमेत आग्रह गरेका छन् ।
 
त्रिविले १४ फागुनमा स्ववियु चुनावको तयारी गरेपछि पक्ष र विपक्षमा रहेका विद्यार्थी संगठनबाट क्याम्पस प्रमुखहरूले असुरक्षित महसुस गरेका हुन् । 
 
पाटन संयुक्त क्याम्पसका प्रमुख प्रा डा माधव गौतमले चुनाव नजिकिएसँगै चारैतिरबाट ‘थ्रेट’ आएको बताए । ‘लेखा र क्याम्पस प्रशासनमा ताला लागेको छ, ताल्चामाथि ताल्चा लागेको छ,’ क्याम्पस प्रमुख गौतमले भने, ‘हामीलाई धम्की आइरहेका छन्, मनोवैज्ञानिक त्रास पनि उत्तिकै छ ।’
 
रत्नराज्यलक्ष्मी क्याम्पसकी प्रमुख डा। निर्मलाकुमारी सुवालले अहिले त्रासको वातावरण रहेको बताइन् । ‘तालाबन्दी भएको छ, तालाबन्दी गर्नेहरूले भनेअनुसार भएन भने हुने भौतिक क्षतिको जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्ने धम्की दिइरहेका छन्,’ क्याम्पस प्रमुख सुवालले भनिन्, ‘लिखित र मौखिक चेतावनी आएका छन् ।’
 
त्रिविका पदाधिकारीले बुधबार उपत्यकाका क्याम्पस प्रमुखहरूसँग स्ववियु चुनाव सम्बन्धमा छलफल गरेको थियो । छलफलमा अधिकांश क्याम्पस प्रमुखहरूले असुरक्षित अवस्थामा चुनाव गर्न कठिन रहेको बताएका थिए ।
 
त्रिविमा ०६५ यता स्ववियु चुनाव हुन सकेको छैन । अब पहिलोपटक मिश्रित प्रणालीमा चुनाव हुँदै छ । स्ववियुमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्यमा प्रत्यक्ष चुनाव गर्ने तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्यमा समानुपातिक प्रणालीमा चुनाव हुने प्रस्ताव यसअघि नै पारित भएको छ ।
 
१ फागुनबाट चुनावी प्रक्रिया सुरु हुँदै छ । १ फागुनमा मतदाता सूची प्रकाशन गरी प्रक्रिया सुरु हुने र १४ फागुनमा मतदान गर्ने कार्यतालिका छ ।
 
क्याम्पस प्रमुखलाई मोसो
चुनाव नजिकिँदै जाँदा विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनलाई टार्गेट बनाउन थालेका छन् । अमृत साइन्स क्याम्पसका प्रमुख राजेश माहाजूलाई नेविसंघ समर्थित विद्यार्थीले बुधबार मोसो दलेका छन् । चुनावको समयमा क्याम्पसमा अखिल क्रान्तिकारीलाई सपोर्ट हुने गरी काम गरेको आरोपमा नेविसंघ इकाइले प्रमुखलाई मोसो दलेको हो ।
 
नेविसंघ क्याम्पस इकाइका कार्यबाहक अध्यक्ष शोभित भण्डारीले चुनावको समयमा क्याम्पसको ब्याडमिन्टन कोर्ट भत्काएर अखिल क्रान्तिकारीको काम देखाउन क्याम्पस प्रमुखले भूमिका खेलेको बताए । उनले होस्टेल, लाइब्रेरी, ल्याबलगायतको व्यवस्थापन गर्न पटक–पटक माग राख्दा पनि वास्ता नगरेपछि बाध्य भएर मोसो लगाएको बताए ।
 
विद्यार्थी संगठन एकमत भएनन्
त्रिवि पदाधिकारी र विभिन्न विद्यार्थी संगठनबीच बिहीबार भएको छलफलमा विद्यार्थी संगठनका प्रतिनिधिबीच सहमति जुट्न सकेन । छलफलमा तीन ठूला संगठन र मधेसवादी दलनिकट ठूला संगठनले अहिलेको मिश्रित प्रणालीमा चुनाव गर्ने अडान व्यक्त गरे । तर, साना संगठनहरूले पूर्ण समानुपातिक प्रणाली हुनुपर्ने धारणा राखेका थिए । नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले सबै संगठनले आफ्ना धारणा राखेको, तर कुनै सहमति जुट्न नसकेको बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ