काठमाडौैं । विधिको शासन अनुसार काम गर्ने हो भने यतिबेला सिंहदरबार अगाडि रहेको खप्तड बजारमा रहेका संरचनाहरु भत्काईसक्नुपर्ने हो । तर, शनिबार विहान सो आसपासमा पुग्दा त्यहाँ भित्र निर्माणकार्य धमाधम चलिरहेको थियो ।
बाहिर हेर्दा सो भवनको मुख्य प्रवेशद्वार बन्द गरिएको छ । तर भित्र भने त्यहाँ निर्माण सामग्री थुपारिएको छ र सँगै निर्माण कार्य पनि चलिरहेको छ । सो भवनमा अहिले सबै सटरहरु तयार पारिएको छ भने माथि पिल्लर उठाएर त्यसै छाडिएको छ । अहिले भने भित्री भागमा ढलानको काम चलिरहेको निर्माणकार्यमा संलग्न एक अधिकारीलेल जानकारी दिए ।
अहिले त्यहाँ धेरै कर्मचारीहरु संलग्न रहेका छैनन् । तर, भित्र भने निर्माण कार्य चलिरहेको छ । सो भवन निर्माण भएको जग्गा नेशनल ट्रेनिङको हो कि समाजकल्याण परिषद्को हो भन्ने विवाद नटुङ्गिएपछि सर्वाेच्च अदालतले तत्कालको लागि सो स्थानमा कुनैपनि भवन बनाउन नदिन भनेर अघिल्लो वर्ष नै महानगरको नाममा आदेश दिएको हो ।
नक्सा रद्द गरिसकेपछि सो भवन आफैंमा गैरकानूनी संरचना सावित भईसकेको छ । सो भवनलाई काठमाडौं महानगरपालिकाले नै भत्काउनु पर्ने हो । तर, अहिलेसम्म भत्काएको छैन । आफ्नो क्षेत्रभित्रको अबैध संरचना भत्काउने जिम्मेवारी महानगरपालिकाको नै हो ।
तर, सो बजारमा अदालतको आदेश र महानगरको निर्णय विरुद्ध भित्रभित्रै संरचना थप गरिँदै आएको छ । जसले सो बजारमा कसको संरक्षणमा यस्तो हर्कत गरिँदैछ भन्ने विषय चासोको विषय बनेकोछ । अबैध भईसकेको दुई हप्ता वितिसक्दा पनि भत्काउनु त परको कुरा थप निर्माण सामग्री थोपारेर आफ्नै निर्णयलाई लत्याउने काम महानगरले किन टुलुटुलु हेरिरहनुमा महानगरकै अधिकारीहरुको संलग्नता त छैन भन्ने आरोपहरु पनि लाग्ने गरेको छ ।
यो संरचना तत्कालै नभत्काउने र उसलाई संरचना थप गर्न र प्रयोग गर्न दिने हो भने यो आरोप बढ्दै जाने निश्चित रहेको छ । त्यसैले सो भवन निर्माणको क्रममा महानगरका सम्बन्धित अधिकारीहरु र निर्माण पक्षबीच कुनै अबैधानिक लेनदेन भएको छैन भने यो भवन तत्काल भत्काउनु आवश्यक रहेको महानगरका अधिकारीहरुले नै बताएका छन् ।