arrow

नेपाल र भारतका मुस्लिम कविहरुको सम्मेलनमा प्रधानमन्त्री

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
PM-rautahama.jpeg

रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र भारतका मुस्लिम कविहरुको संयुक्त सम्मेलनमा सहभागि भएका छन् । शनिबार दिउँसो रौतहटको जिंगहवामा आयोजित नेपाल—भारत मुशायरा (कवि सम्मेलन) लाई प्रधानमन्त्रीले सम्बोधन गरे ।

सम्मेलनमा प्रधानमन्त्री दाहालले भने, ‘तपाईहरुको यो सम्मेलन निकै दुरगामी महत्वको छ । यसलाई मैले दुरगामी महत्व र रणनीतिक कार्यक्रमका रुपमा लिएको छु । यो सम्मेलनले नेपाल र भारतबीचको सम्बन्ध सुदृढीकरणमा विशेष महत्व राख्नेछ । कविता र सिर्जनाका माध्यमद्धारा मुस्लिम समुदायको पहिचान र अधिकार स्थापित गर्ने तपाईहरुको अभियानमा सफलता मिलोस्, शुभकामना छ ।’

आफू पहिचान र अधिकारका निम्ति अनवरत संघर्षमा रहेको बताउँदै प्रधानमन्त्री दाहालले थपे, ‘म सबै जाति, भाषा, कला, संस्कृति र समुदायको पहिचान र अधिकारको पक्षमा छु । हिमाल, पहाड र मधेशबीच राष्ट्रिय एकताको पक्षमा छु । मेरै नेतृत्वमा जनयुद्ध भयो, उत्पीडितहरुको अधिकारको संघर्ष भयो । अहिले नयाँ संविधानले उत्पीडितहरुको पहिचान र अधिकारलाई संस्थागत गरेको छ । बाँकी अधिकार संविधान संशोधनको माध्यमद्धारा प्राप्त गर्दै जाने बाटो खुलेको छ ।’

नयाँ संविधानमा मुस्लिम अधिकार संस्थागत भएको बताउँदै प्रधानमन्त्रीले भने,  ‘संविधानमा मुस्लिम आयोगको व्यवस्था छ, यो संवैधानिक आयोग हो । अब मुस्लिमहरुका अधिकार पनि संस्थागत हुँदै जानेछन् । सिर्जनाका माध्यमबाट आफ्नो समुदायको अधिकार र जागरणका निम्ति तपाईहरुले थाल्नुभएको अभियान प्रशंसनीय छ ।’

कार्यक्रममा नेपाल र भारतका ३६ जना मुस्लिम कविहरुले भाग लिनेछन् । एक दिने कवि सम्मेलनमा मुस्लिम समुदायको भाषा, कला, संस्कृति, ऐतिहासिकता, पहिचान र अधिकारसँग सम्बन्धित कविताहरु प्रस्तुत हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ