arrow

सिमरा गोल्डकपको उपाधि संकटाको पोल्टामा, आर्मी हेरेको हेर्‍यै

logo
प्रकाशित २०७३ माघ २९ शनिबार
simara-gold-cup-final.jpeg

बारा । सिमरा गोल्डकप फुटबल आठौं संस्करणको उपाधि संकटा क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकर हराउँदै संकटाले उपाधि जितेको हो । संकटाले टाइब्रेकरमा आर्मीलाई ४–२ ले पराजित गर्दै उपाधि उचाल्यो । जितसँगै संकटाले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता आर्मीले २ लाख ५१ हजारमै चित्त बुझायो ।

फाइनलको निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि हार जितको टुंगो टाइब्रेकरबाट लगाइएको हो । संकटाका लागि टाइमा राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदीप कार्कीले गोल गरे । संकटाका विश्व अधिकारीको प्रहार भने आर्मीका गोलरक्षक सुनील श्रीवास्तवले रोके ।

आर्मीका लागि सन्तोष तामाङ र हिरण्य मगरलेमात्र गोल गरे । जितेन्द्र कार्की र दीपक गुरुङको प्रहार गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ठ बचाऊ गरेसँगै संकटाको जित सुनिश्चित गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका संकटाका गोलरक्षक विनय श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरस्कार स्वरुप उनले यामाहा मोटरसाइकल पाए ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड संकटाका अनिल गुरुङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ, उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे, उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी र सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका बालकृष्ण श्रेष्ठले जिते । विधागत पुरस्कार पाएका सबैले जनही १५ हजार रुपैयाँ पाए । प्रतियोगिताको ‘फेयर प्ले’को पुरस्कार भने सशस्त्र प्रहरीको एपीएफले पायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ