arrow

चिन्न सकिएन ‘पाणिनीको तपोभूमि’, पणेना पर्‌‍याे अाेझेलमा

logo
प्रेमनारायण आचार्य
प्रकाशित २०७३ फागुन १ आइतबार
panini.jpeg
अर्घाखाँची । विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमि ओझेलमा परेको छ । हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । 
 
यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै अइउण्, रिलक्, एओ आदि १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ । यस क्षेत्रको प्रचारप्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ । 
 
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको नेपाल राष्ट्रिय माविका प्राचार्य पुष्कर पोख्रेलले बताए । 
 
अर्घाखाँचीको पूर्वमा रहेको पणेना गाविसमा यो तपोभूमि पर्छ । सो तपोभूमिबाट उत्तर फर्कंदा हिमशृङ्खला र दक्षिण फर्कंदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको प्रचारप्रसार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुन सक्छ । यो क्षेत्र पाणिनी ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको स्थानीय बासिन्दा तथा जिविसका पूर्वसभापति खगेन्द्रराज पोख्रेलले बताए । 
 
यस क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके अर्घाखाँचीलगायत नेपालका सम्पूर्ण जनतालाई फाइदा पुग्ने र कुनै सङ्घसंस्थाबाट सहयोग पाए आफूहरु तीव्र भएर लाग्ने स्थानीयवासी नारायण पोख्रेलले बताउनुभयो । हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ । यहाँका मन्दिर र पौवा जीर्ण हुने अवस्थामा छन् । 
 
पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको भन्ने संस्कृतका विज्ञ बताउँछन् । पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेका हुन् । रासस 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ