arrow

नायिका श्वेता खड्काले माझी बस्तीका लागि सहयोग गर्ने

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
sweta-khadka-actress.jpg
चौतारा। सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुङ्गे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन्। भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो। 
 
स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताइन् । 
 
“हामीले सरकारी अनुदानबाटै एकिकृत नमुना बस्ती बनाउने सोच राखेका छौँ, स्थानीय झ्याँडी टोलसुधार समितिका अध्यक्ष दिनेश माझीले भने”– “त्यसैले भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरेका छौँ ।” 
 
सोही अनुदानबाट आवास निर्माण गरिने र त्यहाँ पुग्न सडक, खानेपानी, पार्कलगायतको भौतिक संरचनाका लागि अभिनेत्री खड्कासँग आर्थिक सहयोग मागिएको स्थानीय नेत्रज्योति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले बताए । 
 
त्यहाँस्थित भिरालो ठाउँमा डोजरद्वारा चाँडैनै सम्याउने काम सुरु गरिने छ । एकिकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिए । एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्दछ ।
 
एकिकृत बस्तीको लागि सहजकर्ताद्वय स्थानीय यज्ञराज कार्की र गाउँ बाल संरक्षण समितिका सचिव लालबहादुर श्रेष्ठले विपन्न तथा सीमान्तकृत माझी परिवारलाई आवासको सुविधा दिने उद्देश्य राखिएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ