arrow

विशेष पोलियो खोप कार्यक्रममा स्वास्थ्यकर्मीहरु नै बाधक !

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
health-insurance.jpeg
काठमाडौ । सरकारले बालबालिकालाई पोलियो जोखिमबाट जोगाउन १५ जिल्लामा सुरु गर्न लागेको ‘विशेष पोलियो खोप कार्यक्रम’ स्थगित हुने भएको छ । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले यही फागन ७ र ८ गते हुने सो कार्यक्रम स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्थगित हुने सम्भावना बढेको बताए। स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मीले आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐनको दफा ९ ९ख० कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरिएको भन्दै उनीहरु आन्दोलनमा छन् ।
 
उनले सरकारले स्वास्थ्यकर्मीको माग सम्बोधन गरी फागुन ५ गतेसम्ममा काममा फर्किए पनि कार्यक्रम चल्ने अन्यथा यो लगभग स्थगित नै भएको बताए । कार्यक्रमको अर्को मिति भने पछि सार्वजनिक गरिने बताइएको छ । सरकारले १५ जिल्लाका पाँच वर्ष मुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम तय गरेको थियो ।
 
नेपालले सन् २०१० मा नै पोलियो उन्मूलनको प्रमाणपत्र पाएको भएपनि सार्क देश पाकिस्तान र अफगानिस्तानमा अझै पोलियो देखिएकाले नेपालमा पनि उच्च जोखिमको महसुस गरी जोखिमयुक्त जिल्ला छनोट गरी कार्यक्रम गर्न लागिएको हो । नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शुन्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ ।
 
यसमा युनिसेफले भ्याक्सिनको सहयोग गर्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनले रु एक करोड ५० लाख, सरकार र दाताको संयुक्त कोषको रु एक करोड १० लाख खर्च हुने अधिकृत श्रेष्ठले बताए । विश्वले सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । हाल पाकिस्तान र अफगानिस्तानबाहेक अन्य देशमा पोलियो नदेखिएको सङ्गठनको भनाइ छ ।
 
सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा यो कार्यक्रम हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ