arrow

कार्यवाहक प्रहरी प्रमुख पनि सरकारले नै तोक्ने

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
police-news-aa-a.jpeg

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा विवाद भएपछि रिक्त हुन लागेको प्रहरी प्रमुखको कार्यभार सम्हाल्ने व्यक्ति सरकारले नै तोक्ने भएको छ । ३० वर्षे सेवा अवधि पूरा भई सोमबारबाट सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई विदाइ गर्न सरकारले कार्यभार कार्यवाहकलाई दिनु पर्ने बाध्यता आएको छ ।

यद्यपि, कार्यवहाकको प्रमुखबारेको निर्णयपनि गृहमन्त्रालयले नै गर्ने भएकाले कसलाई दिने भन्ने यकिन नभएको प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका प्रहरी बरिष्ठ उपरीक्षक ठाकुर प्रसाद ज्ञवालीले हाम्राकुरालाई जानकारी दिए । ज्ञवालीले भने, ‘संचारमाध्यमले जे मन लाग्यो त्यही लेखे । अहिलेसम्म कसलाई कार्यवाहक दिने भन्ने निर्णय आएको छैन । यो प्रहरीसँगठनको हातको कुरा होइन । कार्यवाहकलाई जिम्मा दिने भएपनि सरकारले नै निर्णय गर्ने हो ।’

ज्ञवालीका अनुसार प्रहरी महानिरीक्षक अर्यालको अवधि सोमबार मध्यराति १२ बजे सम्म छ । ज्ञवालीले भने, ‘सोमबार सरकारले कुनै न कुनै निर्णय गर्ला । अहिले नै यसै हुन्छ भन्न सकिँदैन ।’ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई कार्यवाहक प्रहरी प्रमुखको जिम्मेवारी दिने तयारी गरेका चर्चा चलेको छ ।  डा. पोखरेल हाल नेपाल प्रहरी अस्पतालको प्रमुखका रुपमा कार्यरत छन् ।

प्रशासनिक तर्फका एआइजी सबै एकै पटक सेवानिवृत्त भएपछि डीआइजीबाट प्रहरी प्रमुख बनाउनु पर्ने अवस्थामा जयबहादुर चन्द प्रहरी प्रमुख नियुक्त भएपनि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न भनेको छ । नवराव सिलवाल र जयबहादुर चन्दको विवादबीच सरकारले प्रहरी प्रमुखको कार्यभार सम्हाल्ने व्यक्तिको खोजी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ