arrow

गर्भपतन सेवा लिने किशोरीको संख्या बढ्यो

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
garbhapatan-new.jpeg

रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिइन् ।

असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बताइन् । विद्यालय अध्ययन गर्ने उमेरका १८ जना किशोरीले यो सेवा लिएको अभिलेखमा देखिन्छ थापाले भनिन् ।

किशोरीले नै गर्भपतन गराउँदा सामाजिक विकृति बढ्न सक्ने किशोरी शिक्षा सहजकर्ता तीर्था आचार्य बताउँछन् ।  किशोरी शिक्षाले उनीहरुलाई धेरै सचेत बनाएको भए पनि जिल्लाभर यो कार्यक्रम नभएका कारण सीमित ठाउँमा मात्र यसको प्रभाव देखिएको छ ।

जिल्लाका विभिन्न आठ गाविसमा किशोरी शिक्षा सञ्चालन भएको तथा ती गाविसमा बाल विवाहको दर समेत घट्दै गएको महिला तथा बालबालिका अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिए । ५६ प्रतिशत रहेको बाल विवाहदर अहिले ४५ प्रतिशतमा झरेको छ आचार्यले भने ।

चेतनाको अभावका कारण सानैमा विवाह गर्ने तथा गर्भपतन गराउने देखिएको हुँदा जिल्लाभर यसको रोकथामका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । जिल्लाको सुलिचौर, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालबाट निःशुल्क गर्भपतन सेवा सञ्चालन हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ