arrow

सोलिडारिटी कप विजेता टोलीलाई प्रधानमन्त्रीको सम्मान, खेलाडीले पाए पुरस्कार

विगतमा पुरस्कारको घोषणा गर्ने तर नदिने परम्परा थ्यो, अब तोड्नु पर्छ

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
PM-ra-kheladi-prise.jpeg

काठमाडौं । सरकारले मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्दै खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारको सभाहलमा एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गरेका हुन् ।

प्रधानमन्त्री दाहालले २३ जना विजेता खेलाडी र प्रमुख प्रशिक्षकलाई जनही ३ लाख, सहायक प्रशिक्षकलाई २ लाख र सामान्य ज्ञान प्रशिक्षक र फिजियोथेरापिष्टलाई जनही ५० हजार नगद पुरस्कारले सम्मान गरे ।

कप्तान अनिल गुरुङ, उपकप्तान बिराज महर्जन, खेलाडीहरु विकेश कुथु, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन बिष्ट, हेमन गुरुङ, बिक्रम लामा, कमल श्रेष्ठ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, किरणकुमार लिम्बु, सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जित धिमाल र मुख्य प्रशिक्षक ग्यातुकु कोजीले समान ३ लाख पुरस्कार पाए ।

सहायक प्रशिक्षक राजुकाजी शाक्यलाई २ लाख, सामान्य ज्ञान प्रशिक्षक उज्जवल मानन्धर र फिजियोथेरापिष्ट सुरज भूषाललाई ५० हजार पुरस्कारसहित सम्मान गरियो । खेलाडीलाई सम्मान गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकूदले देशलाई भावनात्मक रुपमा एकतावद्ध बनाउने धारणा राखे ।

प्रधानमन्त्रीले भने,  ‘तपाईहरुले हासिल गरेको विजयले देशको गौरव बढाएको छ । देशलाई भावनात्मक रुपमा एकतावद्ध गरेको छ । कहिलेकाहीँ राजनीतिमा आउने विवाद र उतारचढावलाई सहमति र एकतामा बदल्न पनि तपाईहरुको विजय र एकताले प्रेरणा मिल्ने गरेको छ । हामी संविधान कार्यान्वयन र आर्थिक समृद्धि हासिल गर्ने अभियानमा छौं, यसमा तपाईहरुको विजय र भावी यात्राले थप प्रेरणा दिनेछ ।’

खेलाडीहरुलाई पुरस्कारको घोषणा गर्ने तर नदिने विगतको परम्परा अन्त्य हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरुले सोलिडारिटी कप जितेलगत्तै सरकारले पुरस्कारको घोषणा गरेको थियो । विगतमा पुरस्कारको घोषणा गर्ने तर खेलाडीले नपाउने बिडम्वना पनि हामी कहाँ रहने गरेको थियो । यसपटक त्यस्तो नहोस् भन्नेमा म सुरुदेखि नै सचेत र चिन्तित पनि थिएँ । खेलाडीहरुको व्यस्तता र सरकारको पनि कामको चापका कारण सम्मानको काम केही ढिलो भयो, तैपनि तपाईहरुलाई सम्मान र पुरस्कृत गर्न पाउँदा म खुशी छु । अब पुरस्कार र सम्मानको घोषणा गर्ने तर खेलाडीहरुले नपाउने अवस्थाको अन्त्य हुनुपर्दछ ।’

कप्तान गुरुङले सरकारले गरेको सम्मान र पुरस्कारले खेलाडीहरुमा थप हौसला बढेको भन्दै सरकारको विश्वासलाई निरन्तरको विजयमार्फत् देशको शान बढाउन प्रयोग गर्ने बताए । २०१६ को नोभेम्वर २ देखि १५ सम्म मलेसियामा भएको सोलिडारिटी कपमा नेपाल च्याम्पियन बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ