arrow

पुनःसंरचना आयोगको प्रतिवेदनबारे सिरहाका सांसदसँग छलफल

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
Reconstruction_commission3139.jpeg

काठमाडौँ । स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न गठित समितिले सोमबार बिहान सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा जिल्लामा देखिएका गुनासा हल गर्ने बारेमा कुराकानी भएको थियो । छलफलमा सहभागिले सिरहामा केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासा समाधान गर्नुपर्ने बताए ।

छलफलमा सहभागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले स्थानीय तहको सङ्ख्या केही बढाएर जाँदा नै गुनासा सम्बोधन हुने बताए । मन्त्री नायकले भने,  ‘स्थानीय तह पुनःसंरचना आयोगले अधिकतम् ७४४ स्थानीय तह हुन सक्ने भनेको छ । हाल ७१९ स्थानीय तह सिफारिस गरिएको छ । २ नं प्रदेशका जिल्लामा केही सङ्ख्या थप गरौँ, सङ्ख्या थपेर जानु नै उपयुक्त हुन्छ ।’

शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले स्थानीय तह र वडामा जनसङ्ख्या एकरुपता नदेखिएको बताउँदै जनसङ्ख्यालाई मुख्य आधार बनाइनुपर्छ भनिन् । काँग्रेस सांसद पद्मनारायण चौधरीले स्थानीय तह पुनःसंरचनाबारे स्थानीयस्तरमा छलफल गर्न नसक्नु कमजोरी भएको बताए । पुनःसंरचना जस्तो प्राविधिक विषयलाई राजनीतिक रुपमा टुङ्ग्याउन खोज्दा समस्या सिर्जना भएको उनको भनाइ छ ।

छलफलमा सहभागि काँग्रेस सांसद अमियकुमार यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धानो महराले स्थानीय तह पुनःसंरचनाबारे सबैभन्दा बढी २ नम्बर प्रदेशमा छलफल हुनुपर्ने भए पनि स्थानीयस्तरमा छलफल हुन नसकेकाले समस्या देखिएको बताए ।
छलफलपछि समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचनाबारे जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसदसँग छलफल गरेर सुझाव दिन आग्रह गरिएको बताए ।  सबै राजनीतिक दलका सांसदसँग छलफल गरी सुझाव पेस गर्न सांसद पद्मनारायण चौधरीलाई संयोजकको जिम्मा दिइएको उनले बताए ।

प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गर्न गठित समितिले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसदलाई छलफलका लागि खबर गरे पनि प्रमुख प्रतिपक्षी र सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका सांसद भने उपस्थित भएनन् । समितिले सम्बन्धित पार्टीका प्रमुख सचेतकमार्फत सबै सांसदलाई छलफलमा सहभागी हुन आग्रह गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ