‘भ्यालेन्टाइन्स डे’ : प्रेमबारे के भन्छ बौद्व दर्शन ?

प्रकाशित मिति : २०७३ फाल्गुण २ सोमबार , ४,५३० पटक हेरिएको

विनय देशार । बुझेर वा नबुझेर । घटना घट्छन् । एउटा घटनाले नै अर्को घट्ना जन्माउन सक्छ ! घटना शब्दको धेरै व्याख्या नगर्ने हो भने, सामान्यतः घटना भन्ने वित्तिकै मान्छेले अप्रिय वा विपद् भन्ने नै बुझ्द छ । घटनाक्रम सकारात्मक क्षण पनि हो भन्ने चैं विर्सनु हुँदैन । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पछिल्लो समय अप्रिय घटनाक्रम अलिक बढी सार्वजनिक भएका छन् । अब विषय प्रवेश गरौँ । ‘प्रेम’ र प्रेम दिवस अर्थात् ‘प्रणय दिवस’  । अंग्रेजी भाषामा भन्दा ‘भ्यालेन्टाइन्स डे’ । प्रेम अहिले तन, मन वा धन भनेर व्याख्या गर्नेहरुपनि छन् यहाँ । निष्पाप, निःस्वार्थ, निशर्त ‘प्रेम’ खोज्ने हो भने हामीले प्रेमलाई तन, वा धनसँग झुण्ड्याइरहनु पर्छ जस्तो लाग्दैन । अब रहयो कुरा ‘मन’को । मान्छेको मन नै हो सफा हुनु पर्ने । अध्यात्मलाई मान्ने हो भने भगवान् श्रीकृष्णले अध्यात्मिक तवरले नभइ प्रेम र निस्वार्थ भावले आफ्नो आराधना गरे पुग्ने कथन दिएका छन् । भौतिकवादलाई मान्ने हो भने पनि प्रेम निशर्त हुनु पर्दछ भन्नेहरु नै बढी छन् । यद्यपि, त्यो सैद्धान्तिक मात्रै छ । व्यवहारिक छैन ।   

अब फेरि विषय वस्तुमै फर्किऔँ । प्रत्येक अंग्रेजी वर्षको १४ फेब्रुअरीमा पर्ने भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवस वा नेपालीमा भन्दा प्रेम दिवस पनि एउटा घटनाक्रमले निम्त्याएको उपज नै हो । प्राचिन रोमबाट प्रारम्भ भएको यो दिवस तत्कालिन पादरी सेन्ट भ्यालेनटाइनको योगदान, त्याग र बलिदानसँग पूर्णतया सरोकार राख्दछ । त्यसताका रोमन सम्राट क्लाउडियस द्वितियले प्रेम सम्बन्धलाई सैनिक शक्तिको भाँजोको रुपमा लिई तत्कालीन सैन्य फौजलाई प्रेमसम्बन्ध राख्नबाट वञ्चित गरेका थिए । यद्यपि, सो निर्यणविरुद्ध सेन्ट भ्यालेन्टाइनले भने सैन्य सेवामा रहेका सेनाहरुलाई वैवाहिक सम्बन्ध र प्रेम सम्बन्ध राख्न हौस्याइरहे । पादरीको क्रियाकलापबारे जानकारी पाउनेवित्तिकै सम्राट क्लाउडियसले पादरीलाई पक्राउ गरी थुनामा राख्न निर्देशन दिए । तर, पादरीलाई भेट्न जेलरकै छोरी निरन्तर आइरहन्थिन् । भनिन्छ मृत्यु दण्ड पाइनुको अघिल्लो रात पादरीले जेलरकी दृष्टिविहीन छोरीलाई ‘लभ फ्रम योर भ्यालेन्टाइन’ लेखिएको पत्र प्रदान गरिएकै दिन फेब्रुअरी १४ तारिक परेको र सोही दिनदेखि फेब्रुअरी १४ मा प्रेमि प्रेमीकाले आपसमा प्रेम सन्देश आदन प्रदान गर्ने चलन चलेको बताइन्छ । र, प्रेमि प्रेमीकालाई मिलाउनका लागि प्राणआहुति दिने भ्यालेन्टाइन्सको स्मृतिमा भ्यालेन्टाइन्स डे मनाउन थालियो ।  

अहिले  संसार भर सप्ताह व्यापी रुपमै मनाउन थालिएको भ्यालेन्सटाइन्स डे एक  प्रेम जोडीले आपसमा मायाको चिनो साटासाट गरी प्रेम सम्बन्धमा प्रगाढता र रौनकता थप्ने अवसरको रुपमा समेत लिने गरेका छन् । पछिल्लो समयमा आएर त झन भ्यालेन्सटाइन्स डे सप्ताहकै रुपमा मनाइन थालेको पाइन्छ । १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे परेता पनि फेब्रुअरी ७ देखि नै विश्व व्यापी रुपमा भ्यालेनटाइन्स सप्ताह शुरु हुन्छ । फेब्रुअरी ७ मा पर्ने गुलाब दिवसका दिन मायाको प्रतिक स्वरुप प्रेम जोडीले आपसमा रातो रंगको गुलाफ आदान प्रदान गरी माया अभिव्यक्त गर्दछन् । फेब्रुअरी ८ का दिन पहिलो पटक प्रेमको प्रस्ताव राख्न प्रस्ताव दिवस मनाइन्छ । फेब्रुअरी ९ का दिन चकलेट दिएर प्रेम सम्बन्धमा माधुरियता ल्याउनका निम्ति चकलेट दिवस मनाइन्छ । फेब्रुअरी १० मा टेडी दिवस मनाइन्छ भने आपसमा कहिले नछुटिने बाचा गरी फेब्रुअरी ११ का दिन वाचा कसम दिवस मनाइन्छ यसै गरी फेब्रुवरी १२ का दिन एक अर्काको अंगालेमा बाँधिएर प्रेम जोडिले प्रेम अभिव्यक्त गर्दछन् ।

फेब्रुअरी १३ का दिन पारस्परिक चुम्बन गरी मायाको पोखरीमा डुब्दछन् । अन्तिम तथा फेब्रुअरी १४ का दिन सेन्ट भ्यालेनटाइन्सको बलिदानीको स्मृति गरी प्रेम जोडीले प्रेम साटासाट गरी भ्यालेन्टाइन्स डे मनाउन्छन् । अमेरीकी मुलुकहरुमा त सबै उमेर समूहमा प्रख्यात छ यो दिवस । कयौँ पूर्व प्राथमिक विद्यालयहरुमा साना साना नानीहरुले पान आकारको मायाको प्रतिक बनाइ आफ्ना शिक्षक, अभिभावक, आमा बुबा र साथी भाइलाई वितरण गरी मायालु भावनाहरु अभिव्यक्त गर्ने प्रचलन समेत छ । यस्तै, जिजसले भनेका थिए ईश्वर प्रेम हो भनेर । जब हामी प्रेम गर्छौ, प्रेम गरिएका वस्तुमा हामी ईश्वर स्वरुप पाउँछौ । माता पितालाई हामी अगाध स्नेह गर्छौ, त्यहाँ साक्षात ईश्वर पाउँछौ । जब हामी एउटा वृक्षलाई प्रेम गर्छौ । कसैलाई प्रेम गर्नु भनेकै कसैसँग सागरर्भित रुपमा परिचित हुनु हो वा भनौ कसैलाई बुझनु हो ।
प्रेम गरिनु भनेकै कसैद्वारा आफु बुझिनु हो । त्यसैले त बौद्व दर्शनशास्त्रले प्रेमका महत्पूर्ण ४ पक्षलाई केलाएको छ ।
१. मैत्री : प्रेम जोडीबीच मैत्रीभाव हुनु अत्यावश्यक छ । मैत्री भाव त्यस्तो क्षमता हो जसले माया गरिएको जीवनमा सुख ल्याउँछ । समझदारीयुक्त मैत्री भाव नभएसम्म प्रेम सम्भव छैन ।
२. करुणा : एक अर्काप्रतिको करुणा भावले पनि प्रेम मौलाउने तथा फस्टाउने गर्दछ । अर्काको दुःखमा आफु सामेल भई दुःख कम गराउने भाव नै करुणा भाव हो । सफल प्रेमका निमित्त प्रेम जोडीबीच करुणा भाव हुनु अत्यावश्यक छ ।
३. मुदित : प्रेमिले प्रेमीकालाई वा प्रेमीकाले प्रेमिलाई सदैव खुशी राख्न सक्नुपर्दछ । प्रेम सम्बन्धमा यदि खुशी छैन, दुःख मात्रै छ भने त्यहाँ प्रेम छैन ।
४. स्वतन्त्रता : प्रेममा  एकले अर्काको स्वतन्त्रताको सम्मान गर्नुपर्दछ । प्रेम सम्बन्धमा प्रेम जोडीले स्वतन्त्रताको आभास गर्नु पर्दछ । जहाँ दुई प्रेमि स्वतन्त्रता अनुभव गर्दछन त्यहाँ प्रेम मौलाउँद छ ।
यही दिवसको सन्दर्भलाई लिएर नेपालको हकमा कुरा गर्ने हो भने देखाशिखी र देखावटी भन्दा फरक पर्देन । विद्यमान नेपाली समाजमा प्रेम र मायाका नाममा घटेका थुप्रै घटनाक्रम छन् । थुप्रै बिम्बहरु छन् । जुन बिम्बले अहिलेको युवा पीडिको सोचनशक्ति र व्यवहारलाई प्रष्ट झल्काइरहेको छ । कुनै दर्शनशास्त्रले छोएको देखिदैन । प्रेममा स्वतन्त्रता हुनुपर्दछ भन्ने बौद्ध दर्शनशास्त्र विपरीत प्रेमिले प्रेमिका त प्रेमीकाले प्रेमिमाथि अधिपत्य जमाएका घटनाक्रम थुप्रै छन् ।

दिवस मनाउने नाउमा अचाक्ली बढेको छ । अनावश्यक शर्त राखेर हैरानी पार्ने र पर्ने चलन बढ्दो छ । अनावश्यक खर्च गर्ने र चाहिने भन्दा बढी र पचाउन सक्ने भन्दा बढी मनोरन्जन लिने प्रयत्न गर्ने गरिन्छ । जहाँ प्रेमलाई तन वा धनसँग जोड्ने संस्कारलाई जन्म दिन खोजिदैछ । या प्रेम तन र धन राम्रो हुनेले मात्रै गर्ने हो भन्ने नकारात्मक सन्देश युवा पीडिमा दिन खोजिदैछ । शास्त्रीय अध्येयताहरु भन्छन्, मानिसको तन गंगाको पानीले जति धोए पनि मन सफा भएन भने गंगा जलले स्नान गर्नुको कुनै अर्थ हुँदैन ।’ तसर्थ सेन्ट भ्यालेन्टाइनप्रति साच्चै श्रद्धा भाव अर्पण गर्ने हो भने मन, कर्म र बचन निष्पाप, निस्वार्थ र निशर्त हुनु आवह्यक छ ।भ्यालेन्सटाइन्स डे विकृतिका रुपमा मात्र नमनाई पादरी भ्यालेन्सटाइन्सले दिएको बलिदानको कदर गर्दै उनको स्मृतिमा यो दिनलाई मनाइनु पर्दछ । सम्पूर्ण प्रेम जोडीलाई शुभकामना ।

नयाँ