arrow

गृहमन्त्री निधिले सुरक्षा प्रमुखलाई यस्तो निर्देशन दिए

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
nidhi-spastikaran-news-a.jpeg

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।  

मंगलबार दिउँसो गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिएका हुन् । सोमबार मात्र नयाँ जिम्मेवारीमा पाएका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई निवर्तमान नेतृत्वले गरेको कामलाई निरन्तरता दिन पनि मन्त्री निधिले निर्देशन दिए ।

सीमा सुरक्षा र आन्तरिक सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गर्न पनि निधिले तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । सुन तस्करी, लागू औषध एवं सामाजिक र आर्थिक अपराध नियन्त्रणमा कडाई गर्न पनि गृहमन्त्री निधिले नयाँ जिम्मेवारी सम्हालेको नेतृत्वलाई निर्देश गरे ।

यसैबीच, गृहमन्त्री निधिले नागरिकता संशोधन सम्बन्धी विधेयक र विपद् व्यवस्थापन सम्बन्धी विधेयक यथाशीघ्र पेश गर्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिए । निधिले विगतमा मधेशी मोर्चासँग भएको सहमति अनुसार झुठा मुद्दा फिर्ताको प्रकृया तत्काल टुङ्याउँन पनि सचिव रेग्मीलाई निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ