arrow

स्ववियु चुनावका कारण बढ्यो अपहरण र आगजनीका घटना

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
FSU.jpeg
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु चुनावको मिति नजिकिँदै गर्दा आगजनी र अपहरणलगायतका घटना बढ्न थालेको छ । स्ववियु चुनावको विरोधमा रहेको विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीले सोमबार त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको गाडीमा आगजनी गरेका थिए भने मंगलबार निर्वाचन कमिटीका पदाधिकारीलाई अपहरण गरेका छन् । 
 
त्रिवि शिक्षाध्यक्ष त्रिपाठीका अनुसार विश्वभाषा क्याम्पस निर्वाचन कमिटीका सचिव शिक्षक नवीनचन्द्र मरासिनी विद्यार्थीको अपहरणमा परेका हुन् । मरासिनीलाई क्याम्पस प्रमुखको रोहबरमा दुई घन्टापछि रिहाइ गरिएको थियो । क्रान्तिकारीले केही दिन स्ववियु चुनाव सार्नुपर्नेलगायतका माग राखेर विरोधका कार्यक्रम जारी राखेकाले स्ववियु चुनाव अन्योलमा परेको छ । उसले विभिन्न क्याम्पसमा तालाबन्दीसमेत गरेको छ । २८ वर्षे उमेर हदबन्दीको विरोधमा नेविसंघका असन्तुष्टहरूले उपत्यकाका १० क्याम्पसमा तालाबन्दी गरेका छन् ।
 
अनेरास्ववियु र नेविसंघ चुनाव सार्ने प्रयासमा
स्रोतका अनुसार कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनले स्ववियु चुनाव केही समय पछि सार्न लबिङ सुरु गरेका छन् । अनेरास्ववियु अध्यक्ष नवीना लामाले क्याम्पस प्रमुखलाई थर्काउने, ताला लगाउनेजस्ता कार्यले मनोबल गिरेको बताइन् । विप्लव माओवादीनिकट विद्यार्थी संगठनले पार्टीको महाधिवेशनका कारण एक साता मागेकाले के गर्ने भन्नेमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको उनको बताइन् । ‘हाम्रो जोड १४ फागुनमा मतदान गर्नुपर्छ भन्ने हो, सबैको सहभागिता हुँदा हामीलाई पनि राम्रो हुन्छ,’ उनले भनिन् ।
 
उम्मेदवार घोषणा गर्दै संगठन
विभिन्न विद्यार्थी संगठनले स्ववियु चुनावका लागि धमाधम अध्यक्षका उम्मेदवारको घोषणा गर्न थालेका छन् । मंगलबार अखिल क्रान्तिकारीले अध्यक्षका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । क्रान्तिकारीले एक सय एक क्याम्पसका स्ववियु अध्यक्षको नामावली सार्वजनिक गरेको हो । सोमबार अनेरास्ववियु (छैटौँ)ले देशभरका ५७ वटा क्याम्पसमा स्ववियु सभापति उम्मेदवारको घोषणा गरेको थियो ।
 
सुरक्षाकर्मी परिचालन भएपछि मुक्त गरे - मरासिनी
बिहान साढे १० बजेतिर के हो, कसो हो भन्दै मलाई विद्यार्थीले बोलाएका थिए । क्याम्पसमा तल झरेपछि आरआर क्याम्पसमा जाऔँ भने । त्यसपछि फेरि बागबजार जाऔँ छलफल गर्नु छ भन्दै लगे । मलाई निर्वाचनका विषयमा सोधे र निर्वाचन प्रक्रिया अघि नबढाउनुस् भने । मैले म निर्वाचन प्रमुख होइन, सदस्यसचिव मात्र हो, मैले चाहेर केही गर्न सक्दिनँ भनेँ । मलाई लगेको जानकारी पाएपछि सुरक्षाकर्मीले खोज्न थाले । सुरक्षा सक्रियता देखेर बागबजार पुर्‍याएका विद्यार्थीले फेरि विश्वभाषा क्याम्पस लगेर छाडे ।
नयाँ पत्रिकाबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ