arrow

पत्रकार महासंघको सात जिल्लामा चौतारीको बर्चश्व, ४ जिल्लाको नेतृत्व कब्जा

केन्द्रीय पार्षद् प्रेस युनियन र प्रेस टेन्टर मिलाएर चौतारी बराबर

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
FNJ.jpeg

काठमाडौं । नेपाल पत्रकार महासंघको सात वटा जिल्ला शाखाको नयाँ कार्यसमिति चयन भएको छ । पश्चिमाञ्चलका सात जिल्लामा भएको नयाँ कार्यसमिति चयनमा एमाले निकट प्रेस चौतारीले चार जिल्लामा नेतृत्व पाएको छ ।  यस्तै, काँग्रेस निकट प्रेस युनियनले २ र माओवादी केन्द्र निकट प्रेस सेन्टरले एक जिल्लामा नेतृत्व गर्न पाएको छ ।

बागलुङमा प्रेस चौतारीका दिल शिरिस मगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । यस्तै, गुल्मीमा नवराज भूषाल, म्याग्दीमा तारानाथ शर्मा, र लमजुङमा आश गुरुङ चौतारीबाटै नेतृत्वमा पुगेका छन् । गोरखामा प्रेस युनियनका किशोरजंग थापा र पर्वतमा छविलाल तिवारी प्रेस युनियनबाट नेतृत्वमा पुगेका छन् ।

रुपन्देहीमा भने प्रेस सेन्टरका ज्ञानेन्द्र जिसी अध्यक्ष चुनिएका छन् । केन्द्रीय पार्सदमा पनि प्रेस चौतारीकै बर्चश्व रहेको बताइएको छ । केन्द्रीय पार्षद् चौतारीका ४१, युनियनका २७ र प्रेस सेन्टरका १४ जना आएका बताइँदैछ । युनियन र प्रेस सेन्टर मिलाएर चौतारीसँग पार्षद् बराबरी भएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिनिकटबाट पनि ३ जना पार्षद् चुनिएका छन् । राष्ट्रिय जनमोर्चा निकट ३ र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट १ जना पत्रकार पार्षद् भएका छन् । पाल्पा र अर्घाखाँचीमा नयाँ कार्यसमिति चयनको प्रक्रिया चलिरहेको छ । कास्की, स्याङ्जा, तनहुँ र कपिलवस्तुमा प्राविधिक कारणले रोकिएको छ भने, मनाङ र मुस्ताङमा मौसमका कारणले अधिवेशन स्थगित भएको महासंघका महासचिव उजिर मगरले जानकारी दिएका छन् । आउँदो शनिबार पूर्वाञ्जलका जिल्ला शाखाको अधिवेशन गर्ने तयारी महासंघले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ