arrow

एमाले धमाधम छलफलमा, के–के छन् पोलिट्ब्यूरोका एजेण्डा ?

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
UML-office.jpg.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले संविधान कार्यान्वयन गर्नु नै एमालेको ऐतिहासिक कार्यभार रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा वुधबारबाट सुरु भएको पोलिट्ब्यूरो बैठकको पहिलो दिन ओलीले सार्वभौमसत्ता सम्पन्न संविधानसभाबाट लोकतान्त्रिक विधि र प्रक्रियाका आधारमा जारी भएको नेपालको संविधानको रक्षा गर्नु, सम्वद्र्धन गर्नु र त्यसको कार्यान्वयन गर्नु नेपाल राष्ट्र र एमालेको ऐतिहासिक कार्यभार रहेको बताएका हुन् ।

ओलीले भने, ‘संविधान निर्देशित गरे अनुसार २०७४ माघ ७ गते अघि नै  जनप्रतिनिधिमूलक निकाय निर्वाचनबाट गठन गर्नु अनिवार्य छ । स्थानीय तह र केन्द्रीय तहका निर्वाचनका मितिहरु अविलम्ब घोषणा गर्न, त्यसका लागि कानुनी तथा राजनीतिक वातावरण निर्माण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौ ।’

समसामयिक परिस्थिति, पार्टीको संगठनात्मक अवस्था, पार्टीका तात्कालिक कार्यभारहरु लगायतका विषयहरु समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अघि बढ्न निर्धारित समयभित्रै निर्वाचन गरिसक्नु बाहेक विकल्प नरहेको बताए ।

अध्यक्ष ओलीले प्रस्तुत गरेको १० पेज लामो प्रतिवेदन अध्ययन गरेपछि पोलिट्ब्यूरो सदस्यले विहिबारको बैठकमा राय, सुझाव तथा धारणाहरु राख्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । यस्तै, बैठकले डडेल्धुरामा भएको जीप दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको बताइएको छ ।

बैठकमा केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले पार्टी स्थायी समितिले पारित गरेको फागुन २१ देखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धी कार्ययोजनाहरु प्रस्तुत गरे । सचिव योगेश भट्टराईले फागुन १४ गते देशभरिका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र त्यसमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे बैठकमा धारणा राखे ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने, मेची–महाकाली राष्ट्रिय अभियान, स्थानीय तहसहित सबै तहको निर्वाचन, स्ववियु निर्वाचन र विविध गरी विभन्न कार्यसूचीहरु पोलिट्ब्यूरो बैठकका लागि तय गरिएको प्रचार विभाग प्रमुख एवं सचिव भट्टराईले जानकारी दिए । बिहीबारको बैठक मध्यान्ह १२ पछि सुरु हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ