arrow

राप्रपामा बढ्यो चुनावी सरगर्मी, आउन थाले जिल्लाबाट प्रतिनिधि

logo
कृष्णराज गौतम,
प्रकाशित २०७३ फागुन ५ बिहिबार
RPP-news-aa.jpeg
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् । देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउने क्रम सुरु भएको हो । देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट भएका छन् । 
 
धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ । पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले महाधिवेशनका लागि प्रतिनिधि छनौट कार्य सम्पन्न भइसकेको र आयोजनाको कार्य सुरु भइरहेको जानकारी दिनुभयो । 
 
प्रतिनिधिको नाम, छनौट स्थान तथा तह अनुसारको परिचयपत्र बनाउने कार्य सम्पन्न भइसकेको पार्टीले जनाएको छ । पार्टीको विधान, राजनीतिक दस्ताबेज र आर्थिक कार्यपत्र छपाइका कार्य पनि सम्पन्न भइसकेका छन् । 
 
यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने महाधिवेशनमा आउने प्रतिनिधिलाई आवास तथा भोजनको व्यवस्था पार्टीले मिलाएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 
 
यसैगरी, अध्यक्षसहित एकसय ६१ सदस्यीय कार्यसमितिका लागि विधान संशोधन भइसकेको छ । अध्यक्ष पदमा कमल थापाको नाममा सर्वसम्मति जुटेकाले सो पदका लागि चुनाव गर्नु नपर्ने भएको छ । अब केन्द्रीय सदस्यको चुनाव गरी २४ सदस्यीय पदाधिकारी चयन गरिने छ । 
 
यसपटकको एकता महाधिवेशनमा पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र केन्द्रीय अध्यक्ष कमल थापाबीच प्रतिस्पर्धा हुने भनिएको भए पनि पछिल्लो समयमा शीर्ष नेतृत्वको प्रयासमा महाधिवेशन हुनुअगावै सर्वसम्मत नेतृत्व चयन गरिएको सहप्रवक्ता राजाराम वर्तौलाले जानकारी दिए । 
 
तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते एकीकरण भएपछि तीन महिनाभित्र गर्न लागिएको महाधिवेशनमा काठमाडौँ, ललितपुर र भक्तपुरमा महाधिवेशनको प्रचारप्रसार आजदेखि सुरु गरिएको छ । 
 
पार्टीले हिन्दू राष्ट्र, राजतन्त्र र स्थानीय स्वायत्त शासनको पक्षमा महाधिवेशन केन्द्रित गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालले हिन्दू राष्ट्र, राजतन्त्र र सङ्घीयतामा जनमत लिएर निर्णय गर्नुपर्ने अडान राख्दै आएकाले पनि अहिले एकीकृत राप्रपालाई सोही मार्गमा हिँडाउने भएको छ । 
 
माइकिङ, प्रचार सामग्री वितरण तथा काठमाडौँ उपत्यकाका तीन सहरका विभिन्न स्थानमा पार्टीको झन्डा झुन्ड्याउने कार्य प्रारम्भ गरिएको छ । महाधिवेशनका लागि पाँच लाख झन्डा निर्माण गरिएको बताइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ