arrow

कर्मचारी आन्दोलनले सेवाग्राही पीडित, पत्रकार झनै पीडित !

logo
सुनिल शिवाकाेटी,
प्रकाशित २०७३ फागुन ५ बिहिबार
birodh_local_karmachari.jpeg
हेटौंडा। विभिन्न पाँच बुँदे माग राख्दै स्थानीय निकायका कर्मचारीहरुले गरेको आन्दालनको कारण देशैभरीका स्थानीय निकायहरु ठप्प रहेको छ । जोकोही स्थानीयले पनि दैनिक सेवा लिन जानुपर्ने गाविस, जिविस र नगरपालिकाहरु कर्मचारीहरुको आन्दोलनका कारण ठप्पहुँदा सयौं सेवाग्राहीहरु दैनिक स्थानीय निकायको कार्यालयबाट निराश मुद्रामा घर फर्किने गरेका छन् । 
 
पाँच दिनदेखि जारी सो आन्दोलन पछिल्ला दिनहरुमा झनै यति कडा बन्दै गएको छ कि आन्दोलनको विषयमा समाचार संकलन गर्न गर्न गएका पत्रकारहरुलाई समेत आन्दोलनमा आफूहरुका माग बाहेकका विषयमा सूचना नै दिने गरिएको छैन । अझ स्थानीय निकायको तर्फबाट दिने सूचना त आशै गर्नुपर्दैन । 
 
जुनसुकै आन्दोलनका कारण पनि सर्वसाधारण र सेवाग्राहीहरु मर्कामा भनेर लेख्ने पत्रकारहरु कर्मचारीहरुको आन्दोलनमा भने अरुभन्दा अगाडि आफैं मर्कामा भनेर लेख्नुपर्ने स्थितीमा पुगेका छन् । त्यसो त आफैंले सूचना नपाएर हिँडिरहेको बेलामा सेवाग्राहीको पीडाले झनै मन दुखाउने गरेको छ । बिहीबार सोही विषयमा आन्दोलनको रिपोर्टिङ गर्न जाँदा मकवानपुर जिविसको प्राङ्गणमा भेटिएका राक्सिराङ ८ का खसम चेपाङको मलीन अनुहारले झनै पीडा बढायो । 
 
तीनदिनदेखि महंगो शुल्क तिरेर बजारमा बसेका बिकटका उनले कहिले खुल्छ भन्ने पत्तो नहुँदा तीन दिन बजारमै बसेर अब भने घर जान लागेको भन्दै पीडा व्यक्त गरे । काम गर्न गाविस सचिवको सिफारि चाहिने भएपनि आन्दोलनकै कारण उनले गाविस सचिवलाई भेट्नसम्म पनि नपाएको बताउँछन् । उनले त्यही दुखेसो पोखिहाले कि पत्रकारले त भनेको मान्छन् यसो केही उपाय लगाईदिनु पर्यो भनेर । आफैंले सूचना नपाएर हिँडेको पत्रकालाई अझै पीडा थप्ने कुरा गरेर उनी पार नलाग्ने भएपछि लागे आफेनै घर तिर ।  
 
समाजमा पत्रकार भनेपछि सम्बन्धित क्षेत्रका सबै मान्छेहरु चिनेको र उनीहरुलाई भनेर पनि केही न केही उपाय खोज्न सक्छ भनेर एकोहोरो रुपमा गरिने विश्वासले गर्दा पत्रकारहरु झनै बढी पीडित हुने गरेका छन् । 
 
त्यस्तै, हेटौंडा उपमहानगरपालिका १९ का आईते तामाङको पनि पीडा उस्तै थियो । उनको काम थियो उपमहानगरपालिकामा । उनको आग्रह अनुसार उपमहानगरपालिकामा भने एकपटक मैले पनि मुख फोर्ने निर्णय गरे । उपमहानगरपालिकामा त नचिनेको मान्छे पनि होईन । व्यवसायिक भन्दा पनि अझ घनिष्ठ सम्बन्ध रहेको व्यक्ति भएर पनि आन्दोलनमा नेतृत्वको कुरा काट्न नसकेपछि उनले पनि ती सेवाग्राहीको समस्या सुल्झाउन सकेनन् । ती सेवाग्राहीमा पनि एउटा पत्रकारको नाताले म प्रति देखिएको विश्वास गुम्न पुग्यो । 
 
स्थानीय निकायका कर्मचारीहरुको आन्दोलन यति कडा रहेछ कि उनीहरुले स्थानीय निकायको विषयमा पत्रकारलाई सूचना समेत नदिने निर्णय गरिसकेका रहेछन् । आन्दोलनरत पक्षका एक सदस्यले पत्रकारलाई सूचना दिने र पत्रकारको अगाडि आन्दोलनको समयमा पनि सेवागर्ने हो भने त उनीहरुले त्यही लेखिदिन्छन् अनि आन्दोलन आफैं कमजोर भईहाल्छ नि भन्दै आन्दोलन कडा रहेको देखाउनको लागि पनि सूचना नदिएको बताए । तर, सेवाग्राहीहरुले भने पहिलोदिनदेखि अहिलेसम्म ती निकायहरुबाट पाउने कुनैपनि सेवा पाउन सकिरहेका छैनन् । 
 
यसरी कुनैपनि पक्षले आन्दोलन गरेको बेलामा सेवाग्राही र सर्वसाधारण समस्यामा परिरहेका हुन्छन् । तर, सेवाग्राहीको विश्वास र आन्दोलनरत पक्षबाट प्रचारप्रसारकै लागि समस्यामा पर्ने परिपाटीले पत्रकारहरु भने झनै समस्यामा पर्ने गरेका छन् । यो अहिलेको स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनबाट पनि थप पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ