arrow

स्थानी तह पुनःसंरचना अध्ययन कार्यदलको प्रतिवेदन प्रचण्डको हातमा

प्रदेश २ मा जनसंख्यालाई मध्यनजर गरेर स्थानीय तहको संख्या थप्ने सुझाव

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
karyedal-ko-pp.jpeg

काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनमाथि अध्ययन गरी सुझाव पेश गर्न बनेको कार्यदलले आफ्नो सुझाव प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । विहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका संयोजक एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रतिवेदन बुझाएका हुन् ।  प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले आयोगले तोकिएको समयमै सुझाव प्रतिवेदन बुझाएको भन्दै अब प्रतिवेदन हेरेर आवश्यक निर्णय गरिने बताए ।

प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक मन्त्री पाण्डेले भने, ‘मन्त्रिपरिषदबाट निर्णय गरेर हाम्रो कार्यदललाई १५ दिनको अध्ययन र सुझावको समय दिइएको थियो । हामीले समयभित्रै आफ्नो सुझाव प्रतिवेदन बुझाएका छौं । यस क्रममा हामीले प्रमुख दलका नेताहरु, दुई नम्बर प्रदेशका सबै जिल्लाका सांसदहरु, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु लगायत सबै पक्षसँग छलफल गरेर सुझाव पेश गरेका छौं ।’

मन्त्री पाण्डेले अगाडि थपे,  ‘हाम्रो प्रतिवेदनले निर्वाचनका लागि थप सहज वातावरण बनेको छ । हामीलाई आशा छ, सरकारले छिटै आवश्यक निर्णय गर्नेछ ।’ प्रतिवेदनमा दुई नम्बर प्रदेशमा जनसंख्यालाई मध्यनजर गरेर स्थानीय तहको संख्या थप्ने, जिल्लाबाट सहमतिका आधारमा पठाएको रिपोर्टलाई सम्बोधन गर्ने, स्थानीय तहको नाम, सीमाङ्कन लगायतका विषयलाई अधिकतम् सम्बोधन गर्ने सुझाव दिइएको मन्त्री पाण्डले बताए ।

स्थानीय तह पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी सुझाव पेश गर्न मन्त्रिपरिषदको बैठकले मन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र वाणिज्य तथा आपूर्तिमन्त्री दीपक बोहरा सदस्य रहेको कार्यदल बनाएको थियो । कार्यदलले आफ्नो १५ दिने समयभित्रै प्रधानमन्त्रीसमक्ष सर्वसम्मत प्रतिवेदन पेश गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ