arrow

विकास खर्च बढाउन अन्तरमन्त्रालय समन्वय हुनै पर्छ, हचुवाले चल्दैन : श्रेष्ठ

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
MinBahadur-hrestha.jpeg

म्याग्दी । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले विकास बजेटको खर्च बढाउन अन्तर मन्त्रालयगत समन्वय हुनै पर्ने बताएका छन् । म्याग्दीको बेनीमा आयोजित कार्यक्रममा श्रेष्ठले भने, ‘मन्त्रालयबीच समन्वयको अभाव, अनुगमनको कमी, निर्माण व्यवसायी तथा उपभोक्ता समितिको लापरबाही र कर्मचारीमा इच्छाशक्तिको कमीले गर्दा विकास बजेट कार्यान्वयन एवं सदुपयोगमा समस्या देखिएको छ ।’ अब हचुवाले चल्‍दैन ।

उपाध्यक्ष श्रेष्ठले योजना कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी प्रधानमन्त्रीको कार्यालय र आयोगले देशभरका योजनाको अनुगमन, मन्त्रालयबीच समन्वय तथा कर्मचारी, उपभोक्ता समिति र निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन पहल गरिएको बताए ।

मन्त्रालयले समयमा बजेट उपलब्ध नगराउने र पूर्वाधार योजनामा वन मन्त्रालयले अवरोध गरेकाले विकास योजना प्रभावित भएका छन्’ उनले भने, ‘विकास आयोजनालाई गति दिन एकअर्को मन्त्रालयबीच समन्वय बढाउन प्राथमिकता दिइएको छ ।’

उपाध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षमा विकास बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य सरकारले लिएको बताउँदै फागुन मसान्तसम्म ठेक्का सम्झौता नभएका योजनाको बजेट रकमान्तर गरेर भएपनि काम भएका योजनालाई उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ,–भने ।

ठेक्का लिएको काम अलपत्र छाड्ने र समयमा पूरा नगर्ने निर्माण व्यवसायी तथा जिम्मेवारी लिएको काम निर्माण व्यवसायीलाई दिने उपभोक्ता समितिमा देखिएको बढ्दो विकृति रोक्न नीतिगत सुधारका लागि पहल भइरहेको छ, उनले भनेका छन् ।

सो अवसरमा उपाध्यक्ष श्रेष्ठले बजेटको सही सदुपयोग र परिचालनका लागि समन्वयकासाथ सक्रिय बन्न सम्बन्धीत निकायलाई निर्देशन पनि दिए । जिल्लामा विकास योजना कार्यान्वयनको अवस्था, भएका प्रगति र समस्याका विषयमा उपाध्यक्ष श्रेष्ठले जिल्लाका राजनीतिक दल र कार्यालय प्रमुखलगायत सरोकारवालासँग छलफल गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ