arrow

कान्ति लोकपथ निर्माण कार्यको विजोग, ६० वर्षमा १५ प्रतिशतमात्रै काम

logo
प्रकाशित २०७३ फागुन ७ शनिबार
lokpath.jpeg
काठमाडौं । राजधानीसँग तराई जोड्ने वैकल्पिक सडक कान्ति लोकपथ निर्माणको काम निकै सुस्त भएको छ । ६० वर्षअघि नै ट्र्याक खुलिसकेको सडकको काम अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र सकिएको छ ।
 
कान्ति लोकपथ आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहले सडक बन्न लागेको ६ दशक बिते पनि प्रगति न्यून भएको स्वीकार गरे । 
 
साहले भने, ‘कान्ति लोकपथ निर्माण ०१३ देखि सुरु भएको देखिन्छ । त्यसवेला नेपाली सेनाले ट्र्याक खोले पनि निर्माण कार्यले गति लिन सकेन । अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र काम हुन सकेको छ ।’ 
 
नेपाली सेनाले लोकपथको ट्र्याक खोलेको थियो । यो सडक आठ वर्षयता कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । 
 
त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयले निर्माण गर्दै आएका थिए ।
 
सरकारको प्राथमिकतामा परेमा कान्ति लोकपथलाई नै ‘फास्ट ट्र्याक’का रूपमा विकास गर्न सकिने लोकपथ सडक आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहको भनाइ छ ।
 
यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढमा जोड्न आवश्यक हुने उनले बताए । यसो गरिएमा ललितपुरको सातदोबाटोबाट निजगढको दूरी ८० किमि मात्रै हुन आउँछ । जबकि फास्ट ट्र्याक भनिएको काठमाडौं–निजगढको दूरी ७६ किमि छ ।
 
कान्ति लोकपथ निर्माण भए तराईबाट काठमाडौं प्रवेश गर्ने एक सय ३२ किमि दूरी छोटिने आयोजनाले जनाएको छ । 
 
अहिले तराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा हो । यसको दूरी दुई सय २२ किमि छ । 
 
कान्ति लोकपथ निर्माण भएमा हेटौँडाबाट ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवै बचत हुन्छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ