‘सम्पादकज्यू' मैले अब कसको सफलताको कथा लेखुँ ?

सुदर्शन अर्याल प्रकाशित मिति : २०७३ फाल्गुण ७ शनिबार , ३,५५२ पटक हेरिएको
काठमाडौं । केहीदिन अघि एक सरकारी लगानीबाट सञ्चालित एक समाचार संस्थाले विराटनगरका एक परिवारको सफलताको कथा प्रकाशित गर्यो । जाँगर लुकाएर मुलुक र राजनीतिक दलका नेताहरुलाई अनेक आक्षेप लगाउँदै विदेशिनेहरुको भीडमा उनीहरु एकजना नमुना व्यक्ति थिए, जसले धेरैका लागि एउटा खुल्ला चुनौती दिन सक्छ कि नेपाल सबैले भनेजस्तै सम्भावनाहीन मुलुक होईन भनेर ।
 
पक्कैपनि यस्ता सफलताको कथा सरकारी सञ्चारसंस्थामा प्रकाशित भएको यो पहिलो भने होईन । कम्तिमा पनि साताको दुईचार वटा जति यस्तैगरी बाख्रा पालेर होस् कि भैंसी पालेर, चियाँ बेचेर होस् कि तरकारी नै बेचेर किन नहोस् आफैंले कमाई गरेर एउटा घर जोडेको, एउटी श्रीमती र छोराछोरी पालेका कहानीहरु प्रकाशित भईरहन्छन् । 
 
यस्तै यस्ता घटनाहरुलाई कुनै न कुनै सरकारी सञ्चारमाध्यमले समेटिरहेका हुन्छन् । सरकारी मिडिया भनेको सरकारको विचारबोक्ने सञ्चारगृहहरुको यो संकुचित विषयबस्तु छनोटबाट नेपाल सरकारले नै कुनै व्यक्तिले बनाएको घरलाई सफलताको सिँढी मान्ने तहमा रहेको छ भन्न सकिने बनाएको छ । यो सफलताको कथा बन्नसक्छ त्यसको लागि त्यो भन्दा ठूला सफलताहरु समाजमा हुनु भएन । 
 
यो विषयलाई उल्लेख गरिरहँदा नेपालमा नै कसैले केही गरेर जीवनमा सफलता हासिल गरेका व्यक्तिहरुको कथा बनाउनु के अपराध हो ? या त पत्रकारिरतामा गैरव्यवसायिकता हो ? भन्ने पनि प्रश्न उब्जिन सक्छ । तर पक्कै पनि कसैले गरेको राम्रो कामको प्रशंसा गरेर धेरै भन्दा धेरैलाई प्रोत्साहित गर्नु त पत्रकारको दायित्व भित्र नै पर्न आउँछ । तर, हामीले यो व्यवसायिकतालाई कतिसम्म संकुचित बनाएका छौं भन्ने यथार्थ पनि यससँगै झल्किने गरेको छ । 
 
समाजमा धेरैको धेरै तर्फको प्रयास हुन्छ । कसैले आफ्नै दुखबाट आफ्नो गर्जो टार्नको लागि संघर्षरत हुन्छन् त कोही समाज परिवर्तनको लागि कुनै महत्वपूर्ण गतिविधिमा व्यस्त हुन्छन् । कुनैपनि व्यक्तिले गरेको प्रयाससिद्ध हुनु नै सफलता हो । त्यसैले सफलताको कथा भनेर लेखिएका परम्परावादी कथाहरु पनि नामैको हिसावले गलत त नठहरिएलान् । तर, यस्ता कथाहरुले हाम्रो समाजको विकसित स्वरुपको भने पक्कै चित्रण गर्दछ । 
 
मुलुक परिवर्तन हुनको लागि सबैभन्दा पहिले समाज परिवर्तन हुनु आवश्यक छ । समाज परिवर्तन हुनको लागि समाजमा बस्ने व्यक्ति परिवर्तन हुनु आवश्यक छ । यो प्राकृतिक सिद्धान्त हो । त्यसको लागि व्यक्तिको परिवर्तन वा व्यक्तिको सफलताले नै राज्यको सफलता र परिवर्तनको दृश्य प्रतिविम्बित गरेको हुन्छ । तर, हामी अहिलेसम्म पनि कुनैव्यक्तिले घर बनायो र आफ्ना छोराछोरी राम्ररी पाल्यो भन्ने कथालाई सफलताको कथाको मन्त्र जपेर कहिले पुग्छौं राज्यको सफलताको श्रेणीमा ?
 
विश्वमा देखिएका विकाससँग दाँजेर हामीले नेपालको विकासलाई हेरौं त हामी कुन दलदलमा फसिरहेका छौं । के हाम्रो विकास यही व्यक्तिको विकाससँग जोडिएको छ ? हामीले समाज विकासमा भएका सफलतालाई कथा बनाएर छाप्न किन सक्दैनौं ? हाम्रालागि जाजरकोटमा कुपोषणले मरेका बालकको समाचारको भन्दा राजनीतिक दलका नेताहरुको खोक्रो र मिथ्या भाषण प्रिय हुन्छ । 
 
हाम्रा सम्पादकका लागि त्यही नै महत्वपूर्ण लाग्छ । राजनीति विकासको लागि महत्वपूर्ण छ न कि नेताहरुले बोलेका सबै भाषणहरु । तर, हामीहरु त्यसैको सेरोफेरोमा कुहिरोको कागसरी रुमलिईरहेका छौं । केही समय अगाडि काठमाडौंको भृकुटीमण्डपमा विभिन्न सञ्चारमाध्यममा आवद्ध साथीहरुसँगको कुराकानीको क्रममा अहिले चलिरहेको पत्रकारिताको अवस्था र अबको समाजले खोजीरहेको पत्रकारिताको विषयमा चर्चा हुँदै थियो । 
 
उक्त भेटघाट कार्यक्रममा राजनीतिक, आर्थिक, अपराध, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत कलम चलाउने पत्रकारहरुको सहभागिता रहेको थियो । सो भेटघाटमा सबैले आआफ्ना तर्क गरिसकेपछि मैले पनि आफ्नो तर्क राख्नेपालो आयो । मैले सबैभन्दा पहिले आआफू कार्यरत सञ्चारसंस्थामा अहिलेको सबै सम्पादकीय नीति परिमार्जन गर्ने गरी प्रस्ताव अघि बढाउन प्रस्ताव अघि सारेँ । 
 
जुन आफैंले पनि आफैं कार्यरत सञ्चारगृहमा प्रस्ताव लैजाँदा सो प्रस्ताव ठाडै अस्वीकार गरिएको थियो । सम्पादकीय नीति परिमार्जन गर्नुपर्छ भन्ने तर्कको पछाडि अरु केही नभएर हामीले अहिले राजनीतिलाई दिनेगरेको महत्व आर्थिक र सामाजिक विकासका विषयलाई दिएर राजनीतिलाई अलिक थोरै महत्व दिऔं भन्ने थियो । 
 
यो प्रस्ताव म कार्यरत संस्थामा मात्रै होईन नेपालमा अधिकांश सञ्चारसंस्थामा अस्वीकार हुनेमा पनि म ढुक्क छु । किनभने हाम्रो समाज राजनीति र व्यक्तिको आर्थिकोपार्जनलाई नै सर्वोपरी ठान्ने संकुचित विन्दूबाट माथि उठ्न सकेको छैन । यो स्वभाविकै पनि छ किनभने यो समाज कुनै व्यक्तिले नोवेल पुरस्कार कसैले जित्यो भन्योभने कति पैसा आउँछ ? भनेर सोध्ने समाज हो ।
  
यस्तो संकुचित समाजलाई मिडियाले नै आधुनिक र फराकिलो बनाउने हो । अरुको उदाहरण दिएर हुन्छ कि, आफूहरुका समस्या देखाएर हुन्छ या  अन्य कुनै तरिकाले नै किन नहोस् । समाजका व्यक्तिहरुलाई शिक्षित बनाउने वा उनीहरुको सोचाईको स्तर बढाउने काम आम सञ्चारकै हो । तर, हामी पनि त यही समाजका उत्पादन हौं, हाम्रो सोचाईको स्तर चाहिँ कसले बढाउने भन्ने विषय भने सोचनीय छ । 
 
हामीहरुले लेख्नेगरेको सफलताको कथा अब बाख्रा पालन गरेर आफ्नो गर्जो टार्नेमा सीमित हुँदैन । यसले कम्तिमा पनि छिमेकी भाइलाई विदेशजानबाट रोकेको विषयसम्म त जुटाउँला । हामीहरु धेरैलाई मन नपर्ने राजनीतिक विषय नै हामी किन पाठकलाई जवर्जस्त कोच्याईरहन्छौं । अब विकासका विषय समेटौं, अब हामी भ्रष्टाचार विरुद्धका आवाजहरु समेटौं । यस्ता विषयहरु समेट्न सके पाठकको रुची मात्रै होइनकी मुलुकले विकासको पथमा विस्तारै फड्को मार्न समेत धेरै सहयोग मिल्नेछ ।
 
यसकालागि राजनीतिक समूहबाट आएका व्यक्तिलाईमात्रै सञ्चारगृहको सम्पादकीय नीति निर्माणको जिम्मा दिने परिपाटीले पनि राजनीतिक समाचारको प्रभाव नेपाली पत्रकारितामा परेको हो । नेपालीलाई मन नपर्ने राजनीतिक भाषण प्रकाशित तथा प्रशारित हुने अधिकांश रानीतिक समाचार नेपाली मिडियामा जबजब समाचारको अभाव बढेर आउँछ, पत्रिका भए पेज गर्न संकट हुन्छ र अनलाईनमा अपडेटको समस्या हुन्छ अनि खोजिन्छ बेतुकका राजनीतिक समाचार । अनि पछि पारिन्छ समाजले खोजिरहेको विकास सम्बन्धि पत्रकारिता । अनि पछि पारिन्छ म्यागासेसे जित्ने पुष्पा बस्नेत र अनुराधा कोइरालाको कथा । 
 
त्यसैले, समाजले खोजेको सफलताको कथा र हाम्रा सम्पादकले खोजेको सफलताको कथाको विषयबस्तु भिन्न रहेको जटिल परिस्थितीमा एउटा पत्रकारको हैसियतले सबै नेपाली सञ्चार गृहका सम्पादकहरुलाई मेरो पनि एउटै प्रश्न छ ‘सम्पादक ज्यू मैले अब कसको सफलताको कथा लेखुँ ? आफूले समाजकालागि केही दिएका समाजसेवीको कि आफूले व्यक्तिगत आर्थिक लाभको लागि पैसा कमाएका एक सामान्य व्यक्तिको सफलताको कथा लेखुँ ?
नयाँ