arrow

सरकार र मधेसी मोर्चा नेताबीच बैठकमै चर्काचर्की, काँग्रेस महामन्त्री पनि सहभागी ?

logo
प्रकाशित २०७३ फागुन ८ आइतबार
gov-morcha-meeting.jpeg
काठमाडौं । स्थानीय निर्वाचनको घोषणा गर्ने तयारीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको मधेसी मोर्चासहितको बैठकमा चर्काचर्की भएपछि विनानिष्कर्ष टुंगिएको छ ।
 
स्थानीय तहको निर्वाचन घोषणामा मनाउन बोलाएको बैठकमा मोर्चाका नेताले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक संशोधनसहित पारित नगरी निर्वाचन मिति घोषणा गरे आन्दोलनमा जाने निष्कर्ष सुनाएपछि बैठकमै प्रधानमन्त्री दाहाल र मोर्चाका नेताबीच भनाभन भएको हो ।
 
स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न भन्दै शनिबार बिहान बालुवाटार बोलाइएको मधेसी मोर्चासहितको बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचन र संशोधन सँगै अगाडि बढाउने प्रस्ताव गरेका थिए । 
 
तर, मोर्चाले पेल्ने नियतका साथ प्रस्तुत भएको भन्दै प्रधानमन्त्री दाहालको आलोचना गरे ।
 
मोर्चाका नेताले सरकारसँग सम्बन्ध टुट्ने चेतावनी दिँदै संशोधन नटुंग्याई निर्वाचनको उच्चारण नगर्न चुनौती दिएपछि प्रधानमन्त्रीले पनि अनावश्यक अडान नलिन दबाब दिएका थिए । 
 
दुई पक्षबीच केही बेरको चर्काचर्कीपछि दुवै पक्षले आ–आफ्ना कुरा राख्नेबाहेक बैठकमा कुनै सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।
 
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री दाहालले निर्वाचन र संशोधनबारे नेताहरूसँग राय मागेको बताए । 
 
श्रेष्ठले भने, ‘मधेसी मोर्चा आबद्ध दलका नेताहरूलाई सरकारको बाध्यतालाई बुझिदिन प्रधानमन्त्रीले आग्रह गर्नुभयो, तर मोर्चाका साथीहरूले हाम्रो पनि बाध्यता बुझिदिनुस् भन्नुभयो ।’
 
तर, मधेसी मोर्चामा आबद्ध दलका नेताले भने संशोधन विधेयक पारित नभएसम्म कुनै पनि किसिमको निर्वाचन हुनै नसक्ने अडान लिए । 
 
बैठकमा संविधान संशोधनसहित निर्वाचनका विषयमा लामो छलफल भए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति जुट्न सकेन ।
 
‘छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने वैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने प्रधानमन्त्रीको धारणा थियो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
 
प्रधानमन्त्रीले १० फागुनमा बस्ने संसद् बैठकमा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै स्थानीय तहको मिति घोषणामा समर्थन गर्न मोर्चाका नेतालाई आग्रह गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।
 
बैठकमा मधेसी मोर्चाका नेताले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुंगो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राखेका थिए । 
 
मोर्चामा आबद्ध नेताहरू सरकारले निर्वाचन घोषणा गरेकै दिन मोर्चाले पनि आन्दोलन घोषणा गर्ने भन्दै बैठकबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री दाहालले भने धेरै टाढा नजान मोर्चालाई आग्रह गरेका थिए ।
 
सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने छलफलमा सहभागी सदभावना  पार्टीका महासचिव मनीषकुमार सुमनले बताए ।
 
‘हामी संविधान संशोधन गरेर निर्वाचनमा जान तयार छौं, प्रधानमन्त्रीलाई पनि त्यही भन्यौं तर प्रधानमन्त्रीले निर्वाचन र संशोधन सँगै अगाडि बढाउने कुरा गर्नुभयो,’ सुमनले भने, ‘हामीले निर्वाचन घोषणा भएको एक घण्टाभित्र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछौं भनेर निस्कियौं ।’
 
उनले मधेसी दलका नेताहरूले निर्वाचनको मिति घोषणा गर्नु भन्दा अगाडि प्रधानमन्त्रीलाई एकान्तमा गएर सोच्न सुझाव दिएको पनि बताए ।
 
 ‘के संविधान संशोधन नगरी हुने निर्वाचनले देशको समस्या समाधान हुन्छ रु अहिलेकै अवस्थामा निर्वाचनको मिति घोषणा गरेर तपाईंले द्वन्द्व निम्त्याउने काम नगर्नुस्,’ छलफलमा मधेसी मोर्चाका नेताले प्रधानमन्त्रीलाई भनेको भनाइ उधृत गर्दै सुमनले भने ।
 
मोर्चाका नेताहरूले प्रधानमन्त्रीलाई पुनः आन्दोलनमा जान बाध्य पारिए कसैले नसोचेकोे आन्दोलन हुने चेतावनी दिएका थिए ।
 
 ‘अहिलेसम्म मधेसी मोर्चाले चार बुँदे संशोधनमा परिमार्जनसहित संशोधन गरौं भन्दै आएको छ, अब पनि आन्दोलन गर्न बाध्य पारिए संविधानको धाराधारामा संशोधन गर्न बाध्य हुने गरी आन्दोलन गर्ने चेतावनी दिएका छौं,’ सुमनले भने ।
 
छलफलमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले निर्वाचन घोषणालगत्तै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको बताए ।
 
‘संविधान संशोधन गरेर निर्वाचनको मिति घोषणा गरौं, हामी पनि निर्वाचनमा सहभागी हुन्छौं,’ झाले भने, ‘यदि संशोधनविना निर्वाचन घोषणा भयो भने हामी समर्थन फिर्ता लिन बाध्य हुन्छौं र निर्वाचन हुन पनि दिँदैनौं ।’
 
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि सरकार जबर्जस्त ढंगबाट अघि बढे आन्दोलनमा जान बाध्य हुने बताए । 
 
छलफलमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतले सरकारले निर्वाचनको मिति घोषणा गरेकै दिन मधेसी मोर्चाले आन्दोलनको घोषणा गर्ने चेतावनी प्रधानमन्त्री दाहाललाई दिएका छन् ।
 
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा मोर्चा आबद्ध दलका नेता सहभागी थिए । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ