arrow

मधेसी मोर्चासँग यसरी हच्किए प्रचण्ड, चुनावको मिति तोक्नेमा शंका

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
baluwatar-morcha-new.jpeg
काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन घोषणा गरे अकल्पनीय परिणाम भोग्नुपर्ने धम्की दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुनाव घोषणा गर्ने आफ्नो सार्वजनिक प्रतिबद्धताबाट फेरि पछि सरेका छन् ।
 
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार सत्ताधारी गठबन्धन माओवादी–कांग्रेस तथा मधेसी मोर्चाका वरिष्ठ नेताबीच भएको तीन घन्टाभन्दा लामो बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचन गर्नै पर्ने आफ्नो बाध्यतालाई बुझिदिन गरेको आग्रहलाई मोर्चा नेताले अस्वीकार्य चुनौतीका रूपमा लिने धम्की दिएका थिए ।
 
लगत्तै दाहालले त्यसबारे प्रतिपक्षी एमाले र अन्य दलका नेतासँग परामर्श गरी अर्को एक चरणको वार्ताका लागि मोर्चासँग बस्ने सहमतिसाथ आइतबारको बैठक टुंगिएको थियो ।
 
निर्वाचन नहुँदा मधेसमा सीके राउत र अन्यत्र नेत्रविक्रम प्रवृत्ति बढ्ने तथा संविधानका उपलब्धि गुम्नेबारे सचेत हुन मोर्चासँग आग्रह गरे पनि उनीहरूले संशोधनविना कुनै पनि माग स्विकार्न नसक्ने अडान दोहोर्‍याएका थिए ।
 
मोर्चाका एक नेताले आफ्नो सहमतिविना चुनाव घोषणा गरिहाले पनि त्यसलाई रोक्न भोलि दाहाल ‘शक्ति केन्द्रमा धाउनुपर्ने’ अवस्था आउनसक्ने भन्दै चेतावनी दिएका थिए । दाहाल र मधेसी मोर्चाबीचको बैठकमा पहिले स्थानीय निर्वाचन मिति घोषणा कि संशोधन भन्ने विषयमा तनावपूर्ण रस्साकसी भएको थियो ।
 
बालुवाटार बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र संघीय समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
 
बैठक सुरु गर्दै दाहालले भनेका थिए, ‘परिमार्जनसहितको संविधान संशोधन हुन्छ । जनसंख्याका आधारमा गाउँ, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा प्रतिनिधित्व हुन्छ । तपाईंहरूले स्थानीय निर्वाचन स्वीकार्नुपर्‍यो। स्थानीय निर्वाचनको विकल्प छैन ।’ बढ्दो अराजनीतिक क्रियाकलापबाट मुलुक पुनः द्वन्द्वमा जान सक्ने खतरा रोक्न स्थानीय निर्वाचन अपरिहार्य रहेकोमा उनले जोड दिएका थिए ।’
 
एमालेको निर्वाचन र तपार्इंहरूको परिमार्जनसहितको संशोधन रटानले मुलुकमा ७ माघभित्र तीनै तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्नुपर्ने डेटलाइन अप्ठ्यारोमा पर्न लागेको छ,’ उनले भने, ‘म मंगलबारको संसद् बैठकबाटै संशोधन विधेयक अघि बढाउँछु ।’
 
तमलोपा अध्यक्ष महन्थ ठाकुरले सिंहदरबारमा केन्द्रित तीन दलले मधेस र मधेसीलाई सिध्याउन निर्वाचन घोषणा गर्न लागेको आरोप लगाएका थिए । 
 
ठाकुरले मधेसीप्रति सकारात्मक सोच अभावको उपज नै निर्वाचन कि संशोधन भन्ने विषयमा संविधानको डेटलाइन तोक्ने कार्य सत्तापक्षले नै गरेको आरोप लगाएका थिए ।
सदभावना अध्यक्ष महतोले नहुने निर्वाचनका लागि जोड दिनुभन्दा हुने निर्वाचनका लागि संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 
 
संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष श्रेष्ठले संघीयता कार्यान्वयनमा प्रमुख तीन पार्टी प्रतिबद्ध रहने हो भने पहिला स्थानीय नभएर केन्द्र र प्रदेशको निर्वाचन हुनुपर्नेमा आफूले जोड दिएको बताए । 
 
यसअघि बसेको मधेसी मोर्चाको बैठकले प्रधानमन्त्रीसँगको वार्तामा आफ्ना शीर्ष नेतालाई संशोधनविना गरिने स्थानीय निर्वाचन बहिष्कार गर्न निर्देश दिएको थियो ।
 
यस्तै, सत्ता साझेदार कांग्रेस पदाधिकारी बैठकले वैशाखसम्म स्थानीय निर्वाचन गराउनुपर्नेमा जोड दिएको छ ।
 
कांग्रेस संसदीय दल सिंहदरबारमा बसेको आकस्मिक बैठकले यस्तो जोड दिएको हो । एमालेको सहमतिमा संशोधन प्रस्ताव र मधेसीको साथमा निर्वाचनमा जाने र यसका लागि अनौपचारिक वार्ता अघि बढाउने पनि कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ ।
 
यसअघि बिहान माओवादी केन्द्र र कांग्रेस शीर्ष नेताबीच निर्वाचन मिति घोषणा गर्ने उपायबारे छलफल भएको थियो । 
 
कांग्रेस सभापति देउवासँग निर्वाचन मिति घोषणा गरेर संशोधन प्रक्रिया अगाडि बढाउने समझदारी दाहालले गरेका थिए ।
 
चुनाव घोषणा भए धन्यवाद दिउँला– ओली
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार टेलिफोन वार्ता गरेका छन् । 
 
टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डले सोमबार मन्त्रिपरिषद् बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए।
 
बालुवाटार स्रोतकाअनुसार जवाफमा ओलीले निर्वाचनको मिति घोषणा नभएसम्म पत्याउँदिनँ भनेका थिए। 
 
उनले मंगबलार प्रमुख तीन दलबीच नै स्थानीय निकायको निर्वाचन घोषणा गर्ने सहमति भइसकेको होइन र भनेका थिए।
 
ओलीले प्रधानमन्त्रीलाई टेलिफोनबाट निर्वाचन घोषणाको जानकारी दिने होइन भन्दै ठट्यौली पारामा चुनाव घोषणा भए सोमबार नै धन्यवाद दिउँला भनेको स्रोतको दाबी छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ