काठमाडौ । त्रिवि कर्मचारी संघमा काँग्रेस निकट कर्मचारीहरुले भारी मतमा विजय हाँसिल गरेको छ । सोमबार साँझ सम्पन्न भएको मत परिणाममा प्रजातान्त्रिकका भोजराज राउत नेतृत्वको प्यानल विजयी भएको हो ।
साँझ साढे ७ बजेसम्मको मत परिणाममा ५० मत गन्न बाँकी हुँदा उनले ४०० भन्दा बढी मतले आफ्ना निकटतम प्रतिद्वन्दीलाई पराजित गराएका हुन् । बाँकी पदहरुमा पनि सबै प्रजातान्त्रिकका उम्मेदवारहरु विजयी भईसकेको नवनिर्वाचित अध्यक्ष राउतले जानकारी दिए । यद्यपि निर्वाचन आयोगले भने केही मत गन्न बाँकी रहेकोले घोषणा गरेको छैन ।
कूल २१ जनाको कार्यसमिति हुने संघको नेतृत्वमा राउतले प्रगतिशील कर्मचारी संगठनबाट छत्रबहादुर कार्कीलार्इ भारी मतले पराजित गरेका हुन् । तेस्रो बन्नेमा राष्ट्रिय कर्मचारी संघका यादव पोखरेल छन् । अध्यक्षमा निर्वाचित प्रजातन्त्रवादी कर्मचारी संघका राउत त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कार्यरत छन् ।
त्यस्तै, प्रजातन्त्रवादी समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका पुण्यप्रसाद आचार्य, महासचिवमा उम्मेदवारी दिएका भीमलाल भक्त, सचिव सविना श्रेष्ठ र कोषाध्यक्ष पुष्पराज घिमिरेले पनि विजय हाँसिल गरेका छन् ।
अध्यक्षमा निर्वाचित भएसँगै हाम्राकुरास्ँग कुराकानी गर्दै अध्यक्ष राउतले आफ्नो जिवय सांगठनिक र विचारको हिसावले प्रजातान्त्रिक भएपनि यो वास्तवमा सबै कर्मचारीहरुको जीत रहेको बताएका छन् । उनले हार्ने र जित्ने भन्ने कुरा निर्वाचनको दिनसम्म मात्रै हुने भन्दै अब सबै पार्टीलाई मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कर्मचारीहरुको हक हितको लागि आफूले कुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।