arrow

२० वर्षदेखि हुन नसकेको चुनावको मिति घोषणा, गृह प्रशासनको यस्तो तयारी

logo
प्रकाशित २०७३ फागुन १० मंगलबार
election.jpeg
काठमाडौं । सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । अबको ८२ दिनमा देशभर एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा भएको हो । मन्त्रिपरिषद्को सोमबार तेस्रोपटक बसेको बैठकले स्थानीय तहको निर्वाचन मिति तय गरेको हो । 
 
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै भने, ‘अब मुलुक निर्वाचनमा अघि बढेको छ । निर्धारित समयमा नै निर्वाचन सम्पन्न हुन्छ ।’ ०५४ यता स्थानीय निकायको निर्वाचन भएको थिएन । त्यतिवेलाका पदाधिकारीको पदावधि ०५९ मा सकिएको थियो ।
 
यसअघि सोमबारै दुईपटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ देशमा राजदूत नियुक्तिको सिफारिस तथा पाँच सचिव र एक सहसचिवको सरुवासमेत गरेको थियो । निर्वाचन घोषणा गरेपछि नियुक्ति, बढुवा तथा सरुवा गर्न नपाउने प्रावधान छ ।
 
स्थानीय तहको निर्वाचन मिति घोषणा भए पनि स्थानीय तह कार्यान्वयनमा आइसकेको छैन । स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको स्थानीय तहमा केहि संख्या थपेर छिटै अन्तिम रुप दिने मन्त्रिपरिषद्को निर्णय छ ।
 
मन्त्रिपरिषद्ले निर्वाचन गर्न १० अर्व २९ करोड ६३ लाख रुपैयाँ तत्काल निर्वाचन आयोगलाई निकासा दिने निर्णय समेत गरेको छ । 
 
निर्वाचन आयोगको आवश्यकता अनुसार थप रकम निकासा गर्दै जाने पनि बैठकको निर्णय छ । 
 
निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले सुरक्षा खर्च वाहेक तत्कालका लागि माग गरिए अनुसार नै सरकारले रकम निकासा दिने निर्णय गरेको जानकारी दिए ।
 
निर्वाचन मिति तय गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृह मन्त्री विमलेन्द्र निधि, ऊर्जा मन्त्री जनार्दन शर्मा, मुख्य सचिव डा सोमलाल सुवेदीले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । 
 
प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादव, सवै आयूक्त तथा आयोगका सचिव गीपीनाथ मैनालीसँगको छलफलमा ३१ वैशाखमा एकै चरणमा निर्वाचन गर्ने सहमति भएको थियो ।
 
यसअघि आयोगले १ वैशाख र २१ वैशाख गरि दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको थियो । आयोगले सबै तयारी गर्न कम्तिामा एक सय २० दिन आवश्यक पर्ने जनाएको थियो । 
 
तर, ८२ दिनमा निर्वाचन गर्ने सरकारको निर्णयपछि आयोगले चुनौती रहे पनि दिनरात खटिएर भए पनि घोषित दिनमै निर्वाच्न गर्ने जनाएको छ । 
 
आयोगका सचिव मैनालीले भने, ‘तोकिएको समयमा निर्वाचन हुन थूप्रै चुनौती छन् । तर, हामी अहोरात्र खटिएर भए पनि सरकारले घोषणा गरेको दिनमै निर्वाचन सम्पन्न गराउने तयारीमा लागेका छौं ।’
 
 गृह प्रशासनले सुरु गर्‍यो सुरक्षा तयारी
(गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ । ‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘मंगलबारदेखि नै हामी तयारीमा लाग्नेछौँ । 
 
जसरी ०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ ।’
 
(निर्वाचनको सुरक्षा रणनीति तथा कार्यनीतिबारे थप छलफल गर्न गृहले  मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसहितको सुरक्षा बैठक बोलाएको छ । 
 
तत्काल एकीकृत सुरक्षा योजना बनाएर लागू गरिने गृहका अधिकारी बताउँछन् । स्थानीय निर्वाचनका लागि सुरक्षाकर्मी अपुग हुने भएकाले म्यादी प्रहरीसमेत भर्ना गर्नुपर्ने हुन्छ । यसको प्रक्रिया तत्काल सुरु गर्न लागिएको गृहले जनाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ