arrow

उदयपुर सिमेन्टमा चौबीसै घन्टा बिजुली, २५ वर्षपछि नाफामा

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
udaypur-cement.jpeg
काठमाडौं । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ। यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ।
 
१० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ महिनादेखि २४ सै घन्टा बिजुली पाएका कारण हाल दैनिक ६ सयदेखि ७ सय टन सिमेन्ट उत्पादन गरिरहेको छ। 
 
यसअनुसार दैनिक १४ हजार ५० बोरा सिमेन्ट उत्पादन हुन्छ। ‘हामीले डेढ महिनादेखि लगातार बिजुली पाइरहेका छौं, एक दिन पनि उद्योग बन्द भएको छैन’, कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले भने, ‘यो अवधिमा दैनिक १० देखि १५ लाख रुपैयाँ आम्दानी भएको छ।’
 
महाप्रबन्धक पौडेलका अनुसार बिजुली नपाएकै कारण कारखानाले विगतमा मासिक डेढ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको थियो।
 
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नियमित बिजुली आपूर्ति गरेपछि उद्योगको उत्पादकत्व एक सय ५८ दशमलव ८ प्रतिशतले वृद्धि भएको महाप्रबन्धक पौडेलले जानकारी दिए।
 
 ‘दिनको चार, पाँच पटक बत्ती झ्याप–झ्याप जान्थ्यो,’ पौडेलले भने, ‘अहिले २४ घन्टा आपूर्ति छ, उत्पादन रोकिएको छैन।’
 
वर्षभरि नियमित विद्युत् आपूर्ति भए यही आर्थिक वर्षमा कारखाना नाफामा जाने पौडेलले बताए। 
 
तीन अर्ब रुपैयाँभन्दा बढी सञ्चित नोक्सानी रहेको कारखानाले हरेक वर्ष ३० करोड रुपैयाँ घाटा व्यहोर्दै आएको थियो। 
 
सरकारको दुई अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको कारखानाले सरकारलाई १५ वर्षदेखि एक रुपैयाँ पनि ब्याज तिर्न सकेको छैन। ‘अबको एक वर्ष लगातार उत्पादन भएमा सरकारको ब्याज तिर्न सक्षम हुनेछौं,’ उनले भने।
 
कारखानाले दैनिक ९ सय टन उत्पादन गर्ने गरी थप मर्मत सम्भारका लागि टेन्डर प्रक्रिया अघि बढाइसकेको छ।
 
माघमा २ लाख बोरा सिमेन्ट (१० हजार दुई सय ५० टन) उत्पादन गर्ने लक्ष्य लिएकामा तीन लाख २५ हजार बोरा उत्पादन गर्न सफल भएको कारखानाले जनाएको छ। 
 
अघिल्लो वर्ष यसै अवधिमा एक लाख ५० हजार बोरा मात्र उत्पादन गरेको पौडेलले जानकारी दिए।
 
बिजुली पाएका कारण कारखानाले क्लिंकर उत्पादनका लागि प्रयोग हुने कोइलाबापत करिब ८० लाख रुपैयाँ मासिक रूपमा बचाएको छ। 
 
बिजुली पाएपछि एक घन्टामा करिब एक टन कोइला बचेको हो। दैनिक ६ मेगावाट बिजुली खपत गर्ने कारखानाले साँझपख साढे दुई मेगावाट मात्र बिजुली खपत गर्दै आएको छ। 
 
प्राधिकरणले अन्य उद्योगलाई दैनिक सात घन्टासम्म लोडसेडिङ गर्दै आएको छ।
उत्पादन नै न्यून हुने हुँदा कारखानाले बजार विस्तार गर्न पाएको थिएन। 
 
पूर्वाञ्चल क्षेत्रमा बढी केन्द्रित बजारलाई कारखानाले काठमाडौंलगायत पश्चिम क्षेत्रमा विस्तार गर्न लागेको महाप्रबन्धक पौडेलले जानकारी दिए। 
 
उनका अनुसार अन्य नेपाली सिमेन्टभन्दा चुनढुंगा राम्रो भएकाले उदयपुरलाई उत्कृष्ट मानिन्छ। 
 
माग बढी भएको तर आपूर्ति गर्न नभ्याएका कारण बजारमा यो सिमेन्ट सहज उपलब्ध छैन।
 
निजीकरण ऐन जारी भएयता विगतका सरकारले यो कारखाना घाटामा गएको देखाएर निजी क्षेत्रलाई लिजमा दिई व्यापारीबाट कमिसन खाने चेष्टा गर्दै आएका थिए। 
 
यो उद्योगको सबैभन्दा आकर्षक पक्ष सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुंगा हो। करिब पाँच सय वर्षलाई पुग्ने चुनढुंगा पाइने क्षेत्र कारखानाको अधीनमा छ। 
 
यही चुनढुंगालाई ताक्दै निजीकरण गर्ने प्रयास हुँदै आएको हो। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ