arrow

संविधान संशोधनबारे एमालेको निर्णायक बैठक बस्दै, विपक्षी नौ दलसंग साझा धारणा बनाउँदै

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
UML-office.jpg.jpeg
काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको मिति तोकेपछि निर्वाचनको स्वागत गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन पनि अगाडि बढाउने प्रस्तावलाई गम्भीर रुपले लिएको बताएको छ ।
 
एमालेले संसदमा पेस भएको संविधान संशोधन विधेयक अगाडि बढाउन दिने कि नदिने भन्नेबारे निर्णय गर्न बुधबार बिहान बैठक डाकेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले बिहान ११ बजे एमाले संसदीय दलको बैठक डाकिएको हाम्राकुरालाई जनाएका छन् । 
 
उनले एमालेले लामो समयदेखि संविधान संशोधनको औचित्य नभएको बताए पनि कुनै मिलन बिन्दू हुन सक्छ भने त्यसमा लचक हुन पनि सकिने संकेत गरेका छन् । 
 
त्यसैगरी दिउँसो १२ः३० बजे विपक्षी नौ दलको बैठकसमेत बोलाइएको प्रमुख सचेतक ढकालले जनाएका छन् । 
 
संविधान संशोधनप्रति असहमति जनाउँदै एमालेले संसद् अवरुद्ध गर्दै आएकामा स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि भने केही लचिलो देखिएको छ । 
 
प्रमुख सचेतक ढकालले पार्टीको धारणा बनेपछिमात्र नौ दलबीच साझा धारणा तय हुने स्पष्ट पारेका छन् । 
 
संविधान संशोधन नभइ स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको भन्दै मधेस केन्द्रीत दलहरुले बुधबार मधेस बन्दको घोषणा गरेका छन् । 
 
यता सहमतिको प्रयासका लागि भन्दै लामो समयपछि बस्ने भनिएको संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । संसद बैठक बुधबार दिउँसोका लागि डाकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ