arrow

यमनमा शान्ति वार्ताको लागि निरन्तर प्रयास जारी

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
Situasi-Yaman-Saat-Ini.jpg.jpeg
आदेन । यमनमा हालैमात्र सुरु भएको युद्धबिरामकै क्रममा गत आइतबार हुथी विद्रोहीले सेनाको हत्या गरी बिथोले पनि शान्तिवार्तालाई निरन्तरता दिने प्रयास भएको बताइएको छ । सरकार र हुथी विद्रोहीबीचको वार्ताका कारण शान्तिको आशा पलाएको महसुश गरिएकोमा गत आइतबार अकस्मात भिडन्त भएको थियो । 
 
गतहप्ता सुरु भएको दुवै तर्फको युद्धबिरामको उल्लङ्घन गर्ने प्रयास विद्रोही पक्षबाट भएको दाबी सरकारको छ । उता विद्रोहीले भने सेनाले नै आक्रमण गरेको बताएका थिए । गत आइतबार भएको सो आक्रमणमा परी ६८ जनाको ज्यान गए्को थियो । यसरी मारिनेमा कम्तीमा ३० जना सरकारी सेना पनि परेका थिए । त्यस भिडन्तपछि वार्ताको औचित्य समाप्त भएको जानकारी हुथी विद्रोहीले दिएका हुन् । 
 
तर पनि संयुक्त राष्ट्रसङ्घीय मध्यस्थकर्ताले त्यस घटनालाई मात्र कारण देखाएर युद्धबिराम भङ्गभएको घोषणा नगर्न आग्रह गरेका थिए । त्यसयता पनि उनकै आग्रहमा दुवै तर्फबाट युद्धबिरामको अनुगमन गर्न सरकारी र विद्रोही पक्षबाट युद्धबिराम अनुगमनको संयुक्त रुपमा अनुगमन गर्ने सहमति भएको थियो । 
 
गएका केही दिनयता यी दुवै पक्षबाट नै यस्तो समिति गठन भई अनुगमन गरिएको छ । त्यसयता दुवै तर्फबाट आक्रमण नगरिएकाले शान्ति वार्तालाई निरन्तरता दिने प्रयास गरिएको थाहा भएको बताइएको हो । साउदी अरेबियाको समर्थन रहेको यमनी सरकार र हुथी समूहबीच देशका युद्धग्रस्त प्रान्तहरुमा सो युद्धबिराम सुरु भएको सरकारी अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 
 
त्यहाँका विद्रोही र सरकारी वार्ताटोलीबीच भएको सहमतिबमोजिम उनीहरुले एक आपसका बन्दीहरु पनि रिहा गरिसकेका छन् । विद्रोहीले आफ्ना बन्दी रिहा गरिनुपर्ने माग गरेपछि सरकारले पनि त्यसमा समर्थन जनाएको थियो । सरकारका पनि केही समर्थकलाई उनीहरुले बन्दी बनाएकोमा तिनीहरुलाई विद्रोहीले पनि रिहा गरिदिएका छन् । 
 
हुथी विद्रोहीहरुको विद्रोहको रुप बढ्दै गएपछि राष्ट्रपति आबेद रब्बोले नै वार्ताको पहल गर्नुभएको थियो । उहाँले युद्धबिरामपछि गरिने वार्ताका लागि वार्ता समिति पनि गठन गरिसक्नु भएको छ । यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सो मृतक सङ्ख्यामा आधाभन्दा बढी सर्वसाधारण रहेका बताइएको छ । हुथी विद्रोहीहरुले त्यहाँका प्रहरी एवम् सेनालाई लक्ष्य गरेको बताएको भए पनि यसमा परी सर्वसाधारण पनि मारिएका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ