arrow

मधेस बन्दमा नयाँ शक्तिको साथ, राजविराज नगरपालिकामा तोडफोड

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
banda-ra-todfod.jpeg

राजविराज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीको राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणाविरुद्ध आन्दोलनमा उत्रेको मोर्चाका कार्यकर्ताले मधेस बन्दको अवज्ञा गरेको भन्दै बुधबार राजविराज नगरपालिका कार्यालयमा ढुंगामुढा गरेका हुन् । आन्दोलनकारीले हानेका  ढुंगा लागेर कार्यालयको झ्यालका सिसा फुटेका छन् । उनीहरुले कार्यालय समेत सञ्चालन गर्न दिएनन् ।

उनीहरुले सप्तरीमा फाटफुट रुपमा मोटरसाइल, साइकल चल्न दिएपनि शैक्षिक संस्था, बजार, कलकारखा ठप्प पारे । मधेस बन्दले बारा ,रौतहट लगायत तराईका विभिन्न जिल्लाको जनजीवनलाई असर गरेको छ । बन्दकर्ताले जिल्लाका सदरमुकाम, मुख्य राजमार्ग एवं ग्रामिण भेगका  चोकमा विहान ७ बजे देखि नै टायर बालेर प्रदर्शन गरे ।

बन्दकर्ताले काँग्रेस, एमाले, माओवादीविरुद्ध चर्को नारावाजी पनि गरे । बन्दले वीरगन्ज आसपासको जनजीवन पनि कष्टकर बन्यो । पर्सामा मोर्चाले गरेको बन्दमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले समर्थन जनाएको छ । पर्सा संयोजक बलिराम साहले विज्ञप्ती जारी गर्दै संविधान सशोधन नगरी घोषण गरिएको चुनावको मिति जायज नभएको र मधेसी जनतामाथि धोका भएको अाराेप लगाएका छन् ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको थियो । संविधान संशोधन नगरी निर्वाचन घोषणा गरेको विरोधमा मंगलबार साँझ मोर्चाका कार्यकर्ताहरुले विभिन्न जिल्लामा मसाल जुलुस निकालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ