arrow

बंगलादेशमा मनाङ अफगान क्लबसँग हार्‍यो

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
manang-news-aa.jpeg

चट्गाउँ । मनाङ–मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा पराजित भएको छ । चटगाउँस्थित मोहम्मद अजिज रंगशालामा बुधबार भएको समूह चरणको दोस्रो खेलमा मनाङ अफगानिस्तानको शाहिन आस्मायीसँग ३–१ ले पराजित भएको हो ।

शाहिनलाई जिताउन कप्तान अमिरुद्धिन सारिफीले ह्याट्रिक गरे । मनाङका विमल बस्नेतले एक गोल फर्काए । ३८औं मिनेटमा मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै शाहिनका कप्तान अमिरुद्धिन सारिफीको गोलबाट मनाङ पहिलो हाफमा १–० ले पछि परेको थियो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि मनाङले ६५औं मिनेटमा गोल खाएको थियो । यो पल्ट कप्तान अमिरुद्धिन सारिफीले मैदानको बाँयाभागबाट दोस्रो बार च्याप्दै गोल गरे । ७३औं मिनेटमा विमल बस्नेतको उत्कृष्ट हेड गोलबाट मनाङले खेलमा फर्कने संकेत दिएको थियो । ७०औं मिनेटमा विराज महर्जनलाई विस्थापित गरेका विमलले सुजल श्रेष्ठको कर्नरलाई गोलमा परिणत गरे ।

तर, ७६औं मिनेटमा अमिरुद्धिन सारिफीले पेनाल्टी मार्फत गोल गरेपछि मनाङको जित्ने आशा सकिएको थियो । बंगलादेशका रेफ्री मिजनुर रहमानले मनाङका डिफेन्डर सिसिकोले ह्याण्ड गरेको भन्दै पेनाल्टीको दिएको थियो । जसलाई कप्तान अमिरुद्धिन सारिफीले सहजै गोल गरेपछि मनाङ ३–१ ले पछि पर्‍यो । पछि मनाङले गोल गर्ने मौकाहरु खेर फाल्यो ।

४०औं मनाङका कप्तान अनिल गुरुङको हेड बारमा लागेर फर्कदा मनाङले बराबरी गर्ने मौका गुमायो । ५७औं मिनेटमा ओलावाले र ६७औं मिनेटमा साम्सोनले सुन्दर मौका खेर फालेको थियो । हारपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले कप्तान अनिल गुरुङको हेड बारमा लागेर फर्कनु नै खेलको टर्निङ प्वाइन्ट भएको बताए ।

‘पक्कै पनि अनिलको हेड गोल भएको भए खेल हाम्रो पक्षमा हुने थियो । त्यही नै पराजित हुनुको टर्निङ प्वाइन्ट बन्यो ।’ प्रशिक्षक गुरुङले भने, ‘तयारी राम्रै भएपनि शाहिनविरुद्धको खेलमा डिफेन्समा केही समस्या भयो ।’ त्यसैले पराजित हुन पुग्यो ।’

यस्तै शाहिनका खेलाडीहरु शारीरिक रुपमा बलियो हुदा मनाङका खेलाडीले सोचेअनुरुप खेल्न नसकेको प्रतिक्रिया दिए । यस्तै, प्रशिक्षक लोप्साङले खेल २–१ को अवस्थामा हुदा रेफ्रीले गलत निर्णय लिदा पनि पराजित हुन परेको बताउदै टिम सेमिफाइनलमा पुग्नेमा विश्वस्त रहेको बताए ।

पहिलो हारसँगै मनाङले सेमिफाइनल प्रवेशका लागि अन्तिम खेल कुर्नुपर्ने भएको छ । मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले हराएको थियो । समूह ‘बी’मा रहेको मनाङले समुह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक चितगोङ स्पोर्टिङ क्लबसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ