arrow

गाउँमा सामुदायिक स्वास्थ्य शिक्षा सिकाउँदै नर्सिङका विद्यार्थी

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
Doctor-np.jpeg
जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ महाविद्यालय जुम्लामा अध्ययनरत विद्यार्थीले गाउँमा सामुदायिक स्वास्थ्य शिक्षासम्बन्धी चेतना दिन थालेका छन् । विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई राखेर उनीहरुले सामुदायिक स्वास्थ्य शिक्षा दिन थालेका हुन् । 
 
जुम्लाका रारालिही, कुडारी, तातोपानी, लाम्रा, तत्कालीन तलिमउ र कार्तिकस्वामी गाविसमा उनीहरुले स्वास्थ्य शिक्षा र प्राथमिक स्वास्थ्य उपचार सेवासमेत दिँदै आएको सो महाविद्यालयका डिन गायत्री राईले जानकारी दिइन् । 
 
“यो महाविद्यालयमा अध्ययनरत प्रथम वर्षका विद्यार्थीले समुदायमा गएर आधारभूत स्वास्थ्य शिक्षा, शुद्ध खानेपानी, वातावरणीय सरसफाइ, दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले मातृशिशु स्वास्थ्य, गर्भवती जाँच, आइरन चक्की, पोषणयुक्त खाना र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले व्यवस्थापनसम्बन्धी शिक्षा दिदैं आएका छन्” – उनले भनिन् । 
 
उनका अनुसार “विद्यार्थीले एकसय पूर्णाङ्कको सामुदायिक स्वास्थ्य शिक्षा कोर्स पूरा गर्नुपर्छ, त्यसका लागि प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले पाँच, दोस्रो वर्षकाले चार र तेस्रो वर्षकाले दुई हप्ता यो अभ्यास गर्नुपर्ने हुन्छ ।” 
 
स्वास्थ्य चौकीसँग मिलेर त्यहाँ हुने स्वास्थ्यजन्य क्रियाकलापमा पनि यहाँका विद्यार्थी संलग्न हुँदै आएको छ, उनले बताइन् –स्थानीयस्तरमा सामुदायिक स्वास्थ्य शिक्षा प्रभावकारी देखिएकाले आगामी दिनमा यसलाई सिंजा भेकमा रहेका ११ गाविसमा पनि विस्तार गर्ने योजना छ । महाविद्यालयमा नर्सिङ प्रथम वर्षमा ३०, दोस्रो वर्षमा ६० र तेस्रो वर्षमा २८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । 
 
सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत सामुदायिक स्वास्थ्य सेवा र गर्भवती महिलाको स्वास्थ्य, नवजात शिशुमा देखिने खतराका लक्षण, त्यसबाट बचाउन अपनाइने उपाय र गर्न सकिने प्राथमिक उपचारका विषयमा महिलालाई जानकारी गराउँदै आएको नर्सिङ अधिकृत समीक्षा अर्यालले जानकारी दिइन् । 
 
‘एउटा कक्षामा दुईवटा समूह विभाजन गरेका छौँ, जसमा विद्यार्थी स्वयम्ले स्वास्थ्य शिक्षाका बारेमा महिलालाई सिकाउँदै आफू पनि पढ्छन्, अधिकृत अर्यालले भन्नुभयो, सामुदायिक स्वास्थ्य शिक्षाअन्तर्गत परिवार नियोजनका बारेमा पनि जानकारी गराउँदै आएको छ ।’ 
 
नर्सिङ तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हरिमाया बुढाले अरुलाई सिकाउँदै पढ्दा आफूलाई बुझ्न सजिलो र निकै स्मरणीय हुने बताइन् । यसरी पढ्दा बोल्ने बानीको विकास हुँदै गएको र व्यावहारिक रुपमा सिक्न सजिलो भएको उनको बुझाइ छ । 
 
गर्भवती हुँदा गह्रुङ्गो भारी बोक्ने र गोठमै सुत्केरी भएर बच्चा जन्माउँदै गरेका ग्रामीण महिलाले यसबाट बढी लभान्वित भएका छन् । कुडारी–४ का स्थानीय महिला हाँसु कामीले यो स्वास्थ्य शिक्षाले गर्भ रहँदा र सुत्केरी हुँदा अपनाउनुपर्ने सावधानीका उपाय तथा बच्चा जन्मिएपछि उनको स्याहारसुसार कसरी गर्ने भन्नेबारे ज्ञान प्राप्त भएको बताइन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ