arrow

मनाङ मस्र्याङदी ‘गर या मर’ को खेल खेल्दै

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
mamang-gara-ya-mara-ko-khel-kheldai.jpeg
चटगाउँ । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल–२०१७ को समूह चरणको अन्तिम खेलमा नेपालको मनाङ मस्र्याङ्दी क्लवले शुक्रबार आयोजक चटगाउँ अवहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । चटगाउँस्थित मोहम्मद अजिज रंगशालामा हुने समूह चरणको अन्तिम खेलमा मनाङले सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दवाव छ । 
 
बराबरीको नतिजाले मनाङ अर्काे चरणका प्रवेशका लागि पर्याप्त हुने छैन । ठीक त्यसको विपरित आयोजक अवहनीले बराबरीको नतिजा निकाले सेमिफाइनल प्रवेश गर्नेछ । 
 
मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अवहनी लिमिटेडविरुद्धको खेल सेमिफाइनल प्रवेशका लागि ‘गर या मर’ को खेल रहेको बताए । 
 
उनले सेमिफाइनल प्रवेशका लागि बराबरीको नतिजा पर्याप्त नभएकाले जित्नकै लागि खेल्ने बताए । ‘सेमिफाइनल प्रवेशका लागि हामी चितगोङविरुद्ध जित्नकै लागि खेल्नेछौं, अर्काे चरण प्रवेशका लागि जितको विकल्प छैन ।’ प्रशिक्षक लोप्साङले भने, ‘अरुको गेममा निर्भर नरही आँफै जितेर सेमिफाइनलमा स्थान बनाउनेछौं ।’ 
 
शाहिनविरुद्धको खेलमा खेलाडीहरुले सोचेअनुरुपको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक लोप्साङले अवहनीविरुद्धको खेलमा खेलाडीहरुबाट उत्कृष्ट प्रदर्शनसहित जितको आशा राखे । 
 
विपक्षी टिमको बारेमा बोल्दै प्रशिक्षक लोप्साङले दुवै टोलीको जित्ने मौका बराबरी रहेको बताए । ‘चितगोङ पनि कमजोर टोली हैन । तर, उनीहरुको खेल हामीले हेरिसकेका छौं ।’ प्रशिक्षक लोप्साङले भने, ‘पाएको मौकालाई सदुपयोग गरे हामी चितगोङलाई पराजित गर्न सक्षम छौं ।’
 
यस्तै कप्तान अनिल गुरुङले अवहनीविरुद्धको खेल फाइनल जस्तै खेल भएको बताए । ‘हामीलाई सेमिफाइनल प्रवेशका लागि निश्चित जितको खाँचो छ । बराबरीले हामी अर्काे चरणमा प्रवेश गर्न सक्दैनौ । त्यसैले यो फाइनल खेल नै हो ।’
 
कप्तान गुरुङले भने, ‘घरेलु टोलीलाई घरेलु मैदानको फाइदा छ । उनीहरुलाई बराबरी नै पर्याप्त छ । तर, हामीलाई तीन अंक महत्वपूर्ण छ, आशा छ हामीले तीन अंक लिन सक्नेछौं ।’ कप्तान गुरुङले विपक्षी टिमको अग्रपङ्ती राम्रो रहेकाले उनीहरुलाई मार्क गर्दै पाएको मौकालाई मिस गर्न नहुने बताए । 
 
मनाङले यसअघिका दुई खेलमा समान एक हार र एक जित निकालेको थियो । पहिलो खेलमा मनाङले मोहमोदेनलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा मनाङले अफगानिस्तानको शाहिन अस्मायीलाई ३–१ को नतिजा सुम्पेको थियो । 
 
समूह ‘बी’ मा रहेको मनाङ तीन अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । आयोजक अवहनी लिमिटेड भने चार अंकसहित शीर्ष स्थानमा रहँदा मनाङलाई गोलअन्तरमा पछि पार्दै शाहिम अस्मायी दोस्रो तथा मोहमोदेन एक अंकसहित पुछारमा छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ