arrow

स्ववियुमा टिकट वितरणको विषयमा नेविसंघ भित्रै विवाद चुलियो

अवैधानिक समितिले टिकट वितरण गरे विद्रोह गर्ने महामन्त्री काफ्लेको चेतावनी

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
NSU_bibad.jpeg
काठमाडौ । आसन्न स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघभित्र विधान विपरित टिकट वितरण समिति गठन गर्न खोजिएको भन्दै नेविसंघ भित्रकै एक समूहले विरोध गरेको छ । महामन्त्री कुनदन काफ्ले समुहले यस्तो गैरकानूनी काम नसच्याए विद्रोह गर्ने चेतावनी दिएको हो । 
 
काठमाडौंका विभिन्न क्याम्पसमा स्ववियु सभापति, पदाधिकारी र सभापतिका आकांक्षीहरुको वाल्मीकि विद्यापीठमा आयोजित भेलालाई सम्बोधन गर्दै महामन्त्री काफ्लेले विधान विपरित टिकट वितरण समिति गठन भए देशैभरीका क्याम्पसमा विद्रोह गर्ने चेतावनी दिएका हुन् । 
 
“दास भएर सभापति हुने कि विद्रोह गरेर नेता हुने ? रोज्नुपर्ने बेला आउन सक्छ,” विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले भने, “विधानविपरित गए स्वीकार्य हुँदैन । विद्रोहका लागि तयार रहनुस् ।” उनले विधान विपरित गठित टिकट वितरण समितिले टिकट वितरण गरे आफुले पनि देशैभरका क्याम्पसमा टिकट वितरण गरेर निर्वाचन लडाउने बताए । विधानसम्मत रुपमा टिकट वितरण समिति गठन गर्न उनले माग गरे । 
 
त्यस्तै, उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सहमहामन्त्री माधव ढकाल, पूर्व सहमहामन्त्रीहरु प्रचण्डविक्रम न्यौपाने, बलदेव तिमल्सिनाले क्याम्पसमा दुःख गरेका विद्यार्थीहरुलाई न्याय हुनुपर्ने भन्दै अन्याय भए सह्य नहुने बताए । फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । 
 
त्यसका लागि टिकट वितरण गर्न नेविसंघको विधानमा  केन्द्रीय अध्यक्षसहित सो प्रदेशका उपाध्यक्ष र सहमहामन्त्री रहेको समिति गठन हुने उल्लेख छ । तर, नेविसंघको उपत्यकाका क्याम्पसहरुमा टिकट वितरण समितिमा विधानतः रामचन्द्र पौडेल समुहको प्रतिनिधित्व नहुने भएपछि सो समुहले आफ्नो उपस्थितीको माग गर्दै आएको छ । सो कुरा मिलाउन भन्दै निर्देशक समितिका संयोजक प्रकाशशरण महतले सो समुहबाट ३ जना थप गर्ने तयारी गरेपछि महामन्त्री काफ्ले नेतृत्वको समुह रुष्ट भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ