arrow

चीन र भारतको एउटै आवाज: असन्तुष्टलाई मिलाएर चुनाव गर

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
china-india-flag_war.jpeg
काठमाडौं।शुक्रबार फरक–फरक कार्यक्रम र फरक–फरक विषय । एउटा कार्यक्रमका वक्ता भारतीय राजदूत रणजित राय थिए भने अर्कोमा चिनियाँ राजदूत यु होङ । फरक समय र सन्दर्भका कार्यक्रममा दुवै राजदूतले नेपाल सरकारलाई एउटै कुरा सुझाए, ‘असन्तुष्ट दलसँग वार्ता गर ।’
 
नेपालका लागि चिनियाँ राजदूत होङले होटेल अन्नपूर्णमा नेपाल–चीन हिमालय मैत्री समाजको कार्यक्रममा ‘असहमति राखेका दलहरूलाई साथमा लिएर अघि बढ्न’ आग्रह गरिन् । ‘असहमति राखिरहेका दलहरूसँग वार्ता गरेर उनीहरूलाई पनि साथमा लिएर नेपालले सामाजिक समृद्धि हासिल गर्नेछ भन्नेमा चीन विश्वस्त छ,’ एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता डा. रामशरण महतसहित हिमाली जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूमाझ राजदूत होङले भनिन् । १० मिनेट लामो चिनियाँ भाषामा लेखेर ल्याएको सम्बोधनमा राजदूत होङले निर्वाचनबारे केही उल्लेख गरिनन् ।
 
त्यसअघि शुक्रबार दिउँसो रिपोर्टर्स क्लबमा भारतीय राजदूत रणजित रायले सबैलाई साथ लिएर निर्वाचनमा अघि जान सुझाब दिए । ‘संविधान जारी हुने वेलामा पनि हामीले सबैलाई मिलाएर जान भनेका थियौँ,’ दुई वर्षअघिको प्रसंग उल्लेख गर्दै रायले भने, ‘अहिले पनि हाम्रो कुरा त्यही छ कि सबैलाई साथमा लिएर दलहरू अघि जाऊन् । त्यसले लोकतन्त्र र स्थायित्व सुनिश्चित गर्छ । यसका लागि सरकारले गर्ने सबै प्रयासलाई भारत समर्थन र सहयोग गर्छ ।’ सैद्धान्तिक रूपमा भारतले निर्वाचनको विरोध नगर्ने उनको भनाइ थियो ।
 
‘हाम्रो अडान एउटै छ,’ कार्यकाल सकेर १८ फागुनमा नयाँदिल्ली फर्किन लागेका रायले भने, ‘लोकतन्त्र सुदृढ पार्ने सबै प्रयासलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्रका हिसाबले हामी समर्थन गर्छौँ, तर सबैलाई साथमा लिएर अघि बढ्दा नेपालमा स्थायित्व हुन्छ ।’ सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि भारतका तर्फबाट आएको यो पहिलो प्रतिक्रिया हो । ‘निर्वाचन नियमित रूपमा हुनुपर्छ, त्यसले लोकतत्र सुदृढ गर्छ, यसमा कुनै द्विविधा छैन,’ रायले भने । (नयाँपत्रिका)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ