arrow

स्ववियु निर्वाचनः क्याम्पसमा लगाएका ताला फुटाइँदै, मनोनयन दर्ता बेलुकी ७ बजेसम्म

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
FSU.jpeg
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनका लागि आइतबार बेलुकी ७ बजेसम्म मनोनयन दर्ता गर्ने समय थपिएको छ । त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका प्रतिनिधिको बैठकमा भएको सहमति अनुसार मनोनयन आइतबार बेलुकी ७ बजेसम्ममात्र तोकेको हो । 
 
शनिबार नै मनोनयन दर्ता गरिसक्नु पर्नेमा अधिकांश क्याम्पसमा तालाबन्दीका साथै आगजनीसमेत भएकाले सम्भव हुन सकेको थिएन । क्याम्पसहरुमा लगाइएको तालासमेत आइतबार बिहान धमाधम फोडिदै छ । केही क्षेत्रमा तनाव हुन सक्ने देखेर सुरक्षा व्यवस्था कडा तुल्लाइएको छ ।
 
त्रिविवि अन्तर्गतका ६० मध्ये केवल २१ क्याम्पसमामात्र शनिबार मनोनयन दर्ता भएको थियो । हरेक दुई वर्षमा गर्नुपर्ने स्ववियुको निर्वाचन आठ वर्षपछि हुँदैगर्दा विभिन्न दलका विद्यार्थी संगठनले व्यक्तिगत स्वार्थ देखाउँदै तालाबन्दी गरेका हुन् । 
 
शीर्ष तीन दलका विद्यार्थीहरुबाटसमेत आगजनी र तालाबन्दी भए पनि त्रिविले भने निर्वाचन नरोक्ने निर्णय गरिसकेको छ । अब कुनै ठूलो अनिष्ट भएन भने फागुन १८ गते कुनै पनि हालतमा निर्वाचन हुने त्रिविको अडान छ । 
 
त्रिविकी शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय कमिटी संयोजक सुधा त्रिपाठीले फागुन १८ गते नै निर्वाचन गर्ने गरी तालिका मिलाएर अगाडि बढिएको स्पष्ट पारेकी छिन् । 
 
आइतबार बेलुकी ७ बजेसम्म मनोनयन दर्ताको काम सकिएपछि सोमबार अन्तिम नामावली प्रकाशन गरिने त्रिविको तयारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ