arrow

स्थानीय तहको निर्वाचनमा क-कसले उम्मेदवारी दिन पाउँछन् ?

logo
प्रकाशित २०७३ फागुन १५ आइतबार
election.jpeg
काठमाडौं । सरकारले नेपालको इतिहासमा नै पहिलोपटक हुन लागिरहेको स्थानीय तहको निर्वाचनको लागि आउँदा बैशाख ३१ गतेको लागि मिति तोकेको छ । उक्त मितिमा निर्वाचन गर्नको लागि अब करिब साढे दुई महिना बाँकी रहेको छ । 
 
उक्त निर्वाचनको लागि निर्वाचन आयोगले आउँदो बैशाख १६ गतेसम्मको लागि उम्मेदवारहरुले उम्मेदवारी दिनसक्ने कार्यतालिका सार्वजनिक समेत गरिसकेको छ । तर उक्त मितिमा कसकसले उम्मेदवारी दिन पाउँछन् त ? यो पनि एउटा जानकारी राख्नुपर्ने विषय हुन सक्छ । 
 
स्थानीय तहको निर्वाचन गर्नको लागि भनेको स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन २०७३ ले दफा १२ मा उम्मेदवारहरुको योग्यता भनेर कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नेपालको नागरिक हुनुपर्ने, एक्काईस वर्ष उमेर पूरा भएको, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कानूनले अयोग्य नभएको हुनुपर्ने बताएको छ । यो त स्थानीय तहको निर्वाचनमा मात्रै नभएर सबै निर्वाचनको लागि अनिवार्य शर्त हो ।
 
तर यति योग्यता पुगेर पनि नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको र कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्तिले पनि माथिका योग्यता पूरा भएपनि निर्वाचनमा भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ । 
 
त्यस्तैगरी, निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको र भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएको व्यक्ति पनि निर्वाचनमा उम्मेदवारी दिन नसक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । 
 
सङ्गठित अपराध तर्फ भने उक्त अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवारीको लागि योग्य हुँदैन । यसकासाथै, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवारी दिन नसक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । 
 
यसरी कानूनले तोकेको भन्दा भिन्न व्यक्तिले उम्मेदवारी दिएको पाईएमा उम्मेदवार निर्वाचन परिणाम घोषणा नहुँदै सो जानकारी प्राप्त भए तत्सम्बन्धमा आवश्यक छानबिन गरी निर्वाचन अधिकृतले अयोग्य भएको ठहर गरी उम्मेदवारी रद्द समेत गर्न सक्ने बताईएको छ । तर, उम्मेदवारी रद्द गर्नु अघि निर्वाचन अधिकृतले सम्बन्धित उम्मेदवारलाई कम्तीमा चौबीस घण्टाको समय दिई आफ्नो सफाई पेश गर्ने मौका दिनुपर्नेछ । पदमा निर्वाचित भईसकेपछि अयोग्यताको प्रश्न उठेमा वा अदालतबाट अयोग्यता पुष्टि भएमा उक्त उम्मेदवार त्यस्तो पदबाट स्वतः मुक्त हुनेछ बताईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ