arrow

भूपी शेरचन : आधुनिक विशिष्ट कवि

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
bhupi-serchan.jpeg.jpeg
काठमाडौँ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छौँ’ गीतका रचयिता भूपी शेरचनको आज ८० औँ जन्मजयन्ती मनाइएको छ । भूपेन्द्रमान शेरचन वास्तविक नाम भएका भूपी शेरचन नेपाली साहित्यका आधुनिक कवि हुन् । उनको जन्म १९९२ पुस १० गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको थियो । 
 
उहाँको जन्मजयन्तीका अवसरमा भूपी स्मृति थाक पुस्तकालय कोवाङले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उनी सरल भाषामा समयसामयिक विकृतिमाथि व्यङ्ग्य गर्ने र आधुनिक साहित्यका विशिष्ट कवि भएको उल्लेख गर्नुभयो । 
 
साहित्यकार डा तुलसी भट्टराईले थोरै कृति लेखे पनि जनप्रिय कविका रुपमा भूपीलाई नेपालीले सम्झना गरेको बताउँदै भूपीका कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलाउनु आवश्यक रहेको औँल्याउनुभयो । परिवारका अरु दाजुभाइ प्रजातान्त्रिक विचारधाराका भए पनि सुरुमा माक्र्सवादी राजनीतिक दर्शनको अङ्गीकार गर्नुभएको थियो । 
 
साहित्यकार विष्णु प्रभातले जुनकिरीको गीत लेखे पनि चन्द्रमाजस्तै चम्कने व्यक्ति भूपी शेरचन भएको उल्लेख गर्नुभयो । साहित्यकार दामोदर किशोरले नयाँ पुस्ताले भूपीको सोच र विचारलाई अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो  पुस्तकालयका अध्यक्ष वसन्त शेरचनले भूपीको सम्झनामा अक्षयकोष स्थापना गरी १३ हजार जनसङ्ख्या रहेको थकाली जातिको संस्कृतिलाई प्रवद्र्धन गर्न थालिएको जानकारी दिनुभयो । 
 
पुस्तकालय विज्ञ भोला श्रेष्ठले नेपाली साहित्यको विकासका लागि गाउँ गाउँमा पुस्तकालय पुर्‍याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा ७०० पुस्तकालय भएका र त्योमध्ये २० प्रतिशत पुस्तकालय मात्र राम्रोसँग चलेको स्पष्ट पार्नुभयो । कार्यक्रममा मनीषा गौचन, मणिराज सिंह, कृष्णप्रसाद गौचन, चट्याङ मास्टर, रामकुमार पण्डित, बाबा बस्नेतलगायतले कविता वाचन गर्नुभएको थियो । शेरचनका ‘परिवर्तन’ नाटक तथा ‘नयाँ झ्याउरे’, ‘निर्झर’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र ‘भूपि शेरचनका कविता’ कवितासङ्ग्रह प्रकाशित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ